काठमाडौं । उखु उत्पादक किसानको ४६ करोडभन्दा बढी रकम नतिरेको अभियोगमा अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाल पक्राउ परेका छन् । गृह मन्त्रालयको आदेशमा प्रहरीले अग्रवाललाई आज विहान त्रिपुरेश्वरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स्ले उखु किसानको ३८ लाख ६८ हजार बक्यौता नतिरेको उजुरी परेपछि पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । नवलपरासीमा रहेको अग्रवालकै इन्दिरा सुगर एण्ड एग्रो प्रालिले पनि उखु किसानको ८ करोड ५८ लाख रुपैयाँ बक्यौता नतिरेको उजुरी परेको छ । अग्रवाललाई पक्राउ गरी बक्यौता तिराउन उखु किसानले किटानी जाहेरी नै दिएका थिए ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटक–पटक ताकेता गर्दा पनि अग्रवाल सम्पर्कमा आएका थिएनन् । किसानले आन्दोलन गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले अग्रवाललाई पक्राउ गर्न आदेश दिएको हो । उनीमाथि ठगी र सार्वजनिक अपराधको मुद्दा चल्न सक्ने प्रहरीले औंल्याएको छ ।