प्रम ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै डाक्टर
काठमाडौं। स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरेका छन्। सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधबार बिहानदेखि अनौपचारिक मिटिङमा सरिक भएका हुन्।
उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीलाई गएराति राम्रा निन्द्रा लागेको तथा बिहान अस्पतालमा नै उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापासंग सानो अनौपचारिक मिटिङ गरेको जानकारी दिए। यद्यपि एन्टिवायोटिक औषधिको कोर्स पूरा नहुन्जेल केही दिन प्रधानमन्त्रीलाई अस्पतालमा नै विशेष निगरानीमा राखिने बताए।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा निकै सुधार आएपछि उपचारमा संलग्न चिकित्सक पनि खुसी देखिन्थे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी दिन बुधबार बिहान अस्पताल परिसरमा गरिएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफूहरुको अनुहारमा खुसी छाएको बताए।
प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छ । डाक्टर सिंह प्रधानमन्त्रीकी नीजी चिकित्सक पनि हुन्।