२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार, रिपोर्ट ‘सन्तोषजनक’

5363 Shares
Spread the love

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा थप सुधार आएको अस्पतालले जनाएको छ। बुधबार बिहान १० बजे सार्वजनिक प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्टमा ‘परीक्षणका रिपोर्टहरू सन्तोषजनक रहेको’ जनाइएको छ।

‘आज बिहान गरिएका परीक्षणका रिपोर्टहरू सन्तोषजनक रहेको, स्वास्थ्य स्थितिमा थप सुधार देखिएको जानकारी गराइन्छ’, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

छातिमा संक्रमण भएका कारण प्रधानमन्त्री गत सोमबारदेखि सेन्टरमा उपचाररत छन्। प्रा.डा. अरुण सायमीको संयोजकत्वमा प्रा. डा. दिव्या सिंह शाह तथा डा. सन्तकुमार दास सम्मिलित समूह प्रधानमन्त्रीको उपचारमा संलग्न छ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ। धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले ओलीसँगको भेटघाटमा रोक लगाएको हो।

मंगलबार दिउँसो अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताएको छ।

के भएको हो प्रधानमन्त्रीलाई ?

आइतबार राति नै प्रधानमन्त्री ओलीलाई घ्यारघ्यार भइरहेको थियो। उपचारमा संलग्न एक चिकित्सकले भने, ‘राति बाह्र बजेतिर इन्जेक्सन दिइयो। त्यसकै कारणले होला सुगर असन्तुलन भएपछि अस्पताल ल्याइयो।’

शुक्रबारदेखि प्रधानमन्त्रीलाई रुघाखोकी र ज्वरोले च्याप्दै लगेको थियो। ‘आइतबार राति शरीरमा चिनीको मात्रा एकदमै उच्च देखियो। संक्रमण पनि भएपछि घरमै राखिरहन उचित नलागेर ल्याइएको हो,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताइन्।

उनले चिनीको मात्रा नियन्त्रण गर्न र एन्टिबायोटिक औषधि दिन सजिलो हुने भएकाले ओलीलाई अस्पताल भर्ना गरिएको जानकारी दिइन्। ‘श्वासप्रश्वास नलीमा संक्रमण भएको छ,’ डा. शाहले भनिन्।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको र रुघाखोकीका कारण छातिमा संक्रमण बढ्ने खतरा देखेपछि चिकित्सकले उनलाई आराम गर्न सुझाएका छन्।

गतवर्ष पुस अन्तिम साता थाइल्यान्डको बैंककस्थित बुम्रुङग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा प्रधानमन्त्रीले फलोअप चेकअप भएको थियो। प्रधानमन्त्री  भएपछि ओली फलोपअ चेकअपका लागि बैंकक जान पाएका छैनन्।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया