२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

आप्रवासी रोक्न हजारौं अमेरिकी सेना दक्षिणी सीमातर्फ प्रस्थान

1529 Shares
Spread the love

वासिङ्टन। अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ। रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेक्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन्।

यो कदमले सीमामा ठूलो संख्यामा सेना तैनाथ हुनेछन्। यसअघि नै सीमामा दुई हजार नेसनल गार्ड खटिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आएका छन्। उनले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै दिनहुँ आलोचना गरिरहेका छन्।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकएलिनानले अमेरिकी अधिकारीहरुले दक्षिणी मेक्सिकोको चियापास क्षेत्र हुँदै करिब तीन हजार ५०० मानिस अमेरिकी सीमातर्फ अघि बढिरहेको बताए।

यसबाहेक, ग्वाटेमाला र मेक्सिको सीमामा अरु करिब तीन हजार मानिस अमेरिकातर्फ प्रस्थान गर्नेगरी समूह बनाएको पनि अधिकारीहरुले बताएका छन्।

म्याकएलिनानले अमेरिका–मेक्सिको सीमा क्षेत्रको पछिल्लो परिस्थितिलाई सीमा सुरक्षा तथा मानवीय सङ्कटका रुपमा हेर्न सकिने बताए। सीमा सुरक्षा एजेन्टहरुले तीन सातादेखि दिनहुँ एक हजार ९०० जना अवैध आप्रवासीलाई पक्राउ गरिरहेको पनि उनले जानकारी दिए।

सीमामा पक्राउ परेका आधाभन्दा बढी मानिस परिवारसँगै आएका तर उनीहरुले तस्करलाई प्रति व्यक्ति सात हजार अमेरिकी डलरसम्म बुझाएको म्याकअलिननले बताए।

पेन्टागनका अनुसार सीमा क्षेत्रमा खटाइने सुरक्षा फौजसँग हातहतियार, हेलिकप्टर, उच्च प्रविधि जडान गरिएका बिमान रहनेछन्। यो टोलीले सीमा सुरक्षा बललाई मद्दत गर्नेछ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लश्करमा आपराधिक समूहका सदस्य मिसिएको बताएका छन्। उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह गरेका छन्।

प्रतिक्रिया