
२३ असोज । खोटाङमा यौन दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्धा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं –८ का वडाध्यक्ष लिला चौहानविरुद्ध स्थानीय एक ३३ वर्षिया महिलाले आफुलाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्धा दर्ता गरेकी हुन् ।
चौहानले असोज १६ गते राति १० बजे आफु बस्दै आएको घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मञ्जुरी विना अंगालो हाल्दै जर्वजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छन् । उनले भनिन्, “जर्वजस्ती प्रयासको प्रतिकार गर्दै म भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएँ । भोलिपल्ट उल्टै घट्नाको बारेमा कसैलाई भनिस भने राम्रो नहुने भन्दै चौहानले ज्यान मार्ने धम्किसमेत दिए ।”
यस्तै, वडाअध्यक्ष चोहानले २०७४ साल पुस १८ गते पनि यौन दुव्र्यवहार गरेको पीडित महिलाको भनाई छ । उनले भनिन्, “संवेदनशील अंगहरुमा छोएर यौन दुव्र्यवहार गर्न खोजेपछि उम्कने प्रयास गर्दा निलडाम नै भएर म केही दिन विरामी नै भए ।”
पौष महिनामा भएको उक्त घटना सार्वजनिक गरे वडाध्यक्षले ज्यान मार्ने धम्की दिए पनि गाउँलेलाई ती महिलाले आफुमाथी यौन दुव्र्यवहार भएको सुनाएपछि वडाध्यक्षले आगामी दिनमा त्यस्तो गलत कार्य नगर्नेे भन्दै गाउँलेकोबीचमा घट्ना मिलाईएकोसमेत रहस्य खुलेको छ ।
एक पटकलाई माफी दिएकी उक्त महिलालाई आफु गाउँको राजा हुँ भन्दै त्यसपछि पनि चौहानले एकान्तमा भेट्दा अस्वभाविक व्यवहार देखाउने, एक्लै बाटोमा भेट्दा जहिल्यै गोप्य कुरा छ भनि बोलाउने गरेको, र यस्ता गोप्य कुरा कसैलाई गरे जागिरबाट निकालिदिने भन्दै चौहानले धम्क्याउँने गरेकोसमेत रहस्य बाहिर आएको छ ।
पीडित महिलाले समाजमा एकपटक मिलेको घट्ना आफूले बिर्सेको भएपनि पुनः जर्वजस्ती गर्न खोज्दै गिद्धे नजर आफुमा लगाएपछि असोज २२ गते जिल्ला अदालत खोटाङमा यौन दुव्र्यवहारविरुद्ध मुद्धा दर्ता गरिएको उनको भनाई छ ।
यौन दुव्र्यवहार गरेको अभियोगमा चौहान विरुद्ध जिल्ला अदालत खोटाङमा २०७५–सी–०००७ नम्बरमा मुद्धा दर्ता भएको अदालतका श्रेस्तेदार लालकुमार कार्कीले बताए । पीडित महिलाको श्रीमान वैदेशिक रोजगारीमा र बालवच्चा मावलीमा रहेकोले उनि घरमा एक्लै बस्तै आएकी थिईन् ।
वडाध्यक्ष चौहानले आफुलाई यो विषयमा थाहा नभएको बताए । उनले भने, “मेरो नाताले काकी पर्नुहुन्छ, उहाँसँंग भेट नभएको पनि नौ महिना जति भयो, मैले विद्यालयमा आलेप मलेप गर्ने विषय र विद्यालयको भवन सार्ने विषयमा त्यहाँ कुरा गरेपछि उहाँलाई चित्त नबुझेर फसाउँने रणनीति गरिएको हुनसक्छ ।”
उत्तम चौलागाँई