२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

ओली सरकारसँग दशैं खर्च माग्न काठमाडौं हिँडे राउटे

1887 Shares
Spread the love

लेखबेंशी-९ चौरासेमा बस्दै आएका राउटेहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग दशैं खर्च माग्न काठमाडौं हिँडेका छन्। दशैं खर्च माग्न सोमबार दिउँसो ४ बजे काठमाडौंतिर लागेका हुन्।

राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा चार जनाको टोली काठमाडौं हिँडेका छन्। दशैं आइसक्दा मार हान्ने पैसा र लत्ताकपडा नभएकाले प्रधामन्त्रीलाई भेट्न जान लागेको मुखिया शाहीले बताए।

‘नयाँ कपडा र मार (बली) अर्थात् देउतालाई चढाउने बोका माग्नेछौं। दशैंमा हाम्रा जनतालाई मिठो खानेकुरा चाहिन्छ,’ मुखिया शाहीले भने, ‘जनताले एक जोडी सेतो कपडा र ८/१० वटा बली मागेका छन्।’

सरकारले दिएको भत्ताले दशैं खर्च नपुग्ने उनको भनाइ छ। ‘भाँडा पनि बिक्दैनन्, शिकार पाइँदैन, भत्ताले मात्रै कसरी पुग्छ?’ उनले भने। जंगलमा शिकार नभेटिएपछि दैनिकी निर्वाह गर्न निकै गाह्रो भएको उनको भनाइ छ।

‘परिचयपत्रले बाँदर मरेन’

केही महिनाअघि गुराँस गाउँपालिकाबाट स्थायी परिचयपत्र लिएका राउटेहरूले परिचयपत्रकै कारण आफ्नो जंगलमा बाँदर नमरेको बताएका छन्। ‘घरमा परिचय पत्र राखेकै कारण बाँदर पनि मरेन,’ शाहीले भने, ‘परिचय पत्र गुराँसकै जंगलमा फालिदियौं।’

परिचयपत्रले देउता रिसाएर अशुभ भएको उनको भनाइ छ। दैलेखको गुराँस गाउँपालिकाले गत ३१ असारमा ४२ घरधुरीका एक सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र प्रदान गरेको थियो।

प्रतिक्रिया