
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । वामदेवको लागि ठाउँ खालि गर्न नेकपा सासद रामवीर मानन्धरले राजीनामाको तयारी गरेका छन् ।२०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठबन्धनका तर्फवाट तत्कालीन एमालेका उम्मेदवार रामवीर मानन्धर झण्डै दोव्वर मतअन्तरले विजयी भएका थिए । मानन्धरले १८ हजार १ सय २ भोट पाउँदा नेपाली कांग्रेसको समेत समर्थन पाएका राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत प्राप्त गरेका थिए ।
विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत प्राप्त गरेकी थिइन् । यस्तै संघीय समाजवादी फोरमका ज्ञानेन्द्र मोहन श्रैष्ठले १ हजार ७ सय १८ तथा नयाँ शक्तिका इश्वर रिजालले ७ सय २८ मत प्राप्त गरेका थिए । कमल थापा नेतृत्वको राप्रपाका उम्मेदवारलाई समर्थन गर्दै नेपाली कांग्रेसले उम्मेदवारी दिएको थिएन ।
वामपन्थीको गढ मानिने काठमाडौं ७ क्षेत्र नम्बर बाट मानन्धर लगातार दुई पटक विजयी भएका थिए । २०७० सालको संविधानसभा चुनाव र ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मानन्धर यही क्षेत्रबाट विजयी भएका थिए । काठमाडौं ७ मा बालाजु, क्षेत्रपाटी, वनस्थली, खुसिवु, इचंगु लगायतका क्षेत्र पर्छन ।
मंगलवार बालाजुको अष्ठलक्ष्मी सिनेमा हलमा स्थानीय मतदाताहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मानन्धरले राजीनामा गर्न लागेको जानकारी गराएका थिए । उनले काठमाडौं ७ वामपन्थी गठबन्धनको क्षेत्र भएकोले वामदेवले चुनाव जित्ने बताएका थिए ।
राष्ट्रिय राजनीतिमा स्थापित नेताका लागि आफूले चुनाव क्षेत्र खाली गर्न लागेको भन्दै उनले सहयोगका लागि मतदाताहरुसँग आग्रह गरेका छन् । ‘पार्टीको आन्तरिक मूल्याङमा चुनाव जित्ने भरपर्दो आधार देखिएकोले वामदेवले यो क्षेत्र रोज्नु भएको हो’ काठमाडौं ७ का नेकपाका एक नेताले भने ।
२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं ७ बाट तत्कालीन माओवादी केन्द्रको तर्फवाट हिसीला यमी ११ हजार मत पाएर विजयी भएकी थिइन् । हिसिलाले ११ हजार १ सय ७१ मत पाउदा एमालेका तत्कालीन उम्मेदवार राजेन्द्र श्रेष्ठले ७ हजार ९ सय भोट पाएका थिए । नेपाली कांग्रेसकी प्रमिला सिंह डंगोलले जम्मा ५ हजार ६ सय ९१ भोट पाएकी थिइन् ।
सोमवार बसेको नेपका सचिवालय बैठकमा वामदेवलाई काठमाडौं ७ बाट चुनाव उठनउने बिषयमा छलफल भएको थियो । भोलि बस्ने सचिवालयको बैठकले रामवीरको राजीनामाको औपचारिक निर्णय गर्ने छ