काठमाडौँ । गत संसदीय निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ बाट पराजित भएका नेकपाका नेता बामदेव गौतम काठमाडौँ क्षेत्र नम्बर ७ बाट लड्ने भएका छन्। काठमाडौँको क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजिनामा दिन लगाएर बामदेव गौतम चुनाव लड्ने भएका हुन्।
केही समय अगाडि डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन्। आज सोमबार बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएका सांसद रामवीर मानन्धरको पत्र प्रस्तुत गरेको नेकपाको गोप्य स्रोतले जनाएको छ।
स्रोतका अनुसार रामवीरलाई राष्ट्रिय सभामा मनोनित गर्ने आश्वासन दिएर राजिनामा दिन लागाईएको बताईएको छ। बालाजुको अष्टनारायण चलचित्र हलका मालिक समेत रहेका सांसद् रामवीर मानन्धरले तत्कालीन महिला बालबालिका मन्त्री तथा राप्रपाका नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।