२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

चिनीको मुल्य घटेपछि मन्त्री यादव असन्तुष्ट, ‘जे पायो त्यही नलेख्न’ पत्रकारलाई चेतावनी

3059 Shares
Spread the love

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले संसदीय समितिले चिनीको मूल्य तोकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सार्वजनिक लेखा समितिले सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाए ।

बिहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको थियो । सोही निर्देशनप्रति मन्त्री यादवको असन्तुष्टि छ।

मन्त्री यादवले संसदीय समितिको तोकेका मूल्यमा चिनी विक्रीवितरण गर्ने हैसियत मन्त्रालयको नभएको पनि स्पष्ट पारे । उनले संसदीय समितिको निर्देशन आफूले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउने र प्राप्त निर्देशन अनुसार चिनीको मूल्यको सन्दर्भमा आवश्यक निर्णय लिने पनि उल्लेख गरे ।

मन्त्री यादवले चिनीको बजार मूल्य बढाउन आर्थिक चलखेल भएको भन्ने आरोपमा सत्यता नरहेको दावी पनि गरे । १ अरव ६९ करोड रुपैयाँ कमिशन खाएर सरकारले व्यापारीको पक्षमा चिनीको मूल्य तोकेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै मन्त्री यादवले यथार्थ छानवीन गर्न संसदीय समिति गठन गर्न बिहिबार नै सभामुख कृष्णबहादुर महरा समक्ष निवेदन दिएका छन् ।

चिनीको भाउ गढबढ गर्नेमाथि कार्वाही गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री यादवले ‘जे पायो त्यही नलेख्न’ पत्रकारहरुलाई पनि आग्रह गरे । मन्त्री यादवले जनशक्तिको अभावका कारण बजार अनुगमनको काम प्रभावकारी हुन नसकेको पनि स्विकार गरे। उनले आफूले नभई प्रधानमन्त्री ओलीको निर्देशन अनुसार चिनीको आयातमा प्रतिबन्द गराउने निर्णय लिनु परेको पनि स्पष्टिकरण दिएका थिए।

प्रतिक्रिया