काठमाडौं । ३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन फुकुवा भएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिअनुसार गृहमन्त्रालयले उनीहरुको निलम्बन फुकुवा गरेको गृह्र्रस्रोतले जानकारी दिएको छ ।
फुकुवासँगै उनीहरू काममा फर्कने तयारीमा रहेको बताइएको छ ।
तीनैजना प्रहरी अधिकारीलाई विभिन्न समयमा विराटनगर उच्च अदालतले साधारण तारेखमा हिरा गर्न आदेश दिएको थियो । त्यसअघि उनीहरुलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो।
फौजदारी अभियोगमा प्रतिवादी रहेका तीनैजनालाई गृहमन्त्रालयले निलम्बन गरेको थियो।
तीनैजना प्रहरी अधिकारीले साधारण तारेखमा रिहा भएपछि निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए।
सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद्को निर्णयले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले यी तीनै अधिकारीको घटनामा संलग्नता रहेको अभियोग सहित प्रतिवादी बनाएको थियो।
मोरङ उर्लाबारीका सनम शाक्यको १८ फागुन २०७४ मा अपहरणपछि हत्याको अनुसन्धानमा टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ महिनामा ३ हजार ८ सय किलो सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो।
अनुसन्धानमा सनम शाक्य हत्याको अनुसन्धानका लागि अपराध महाशाखाको टोली कार्यक्षेत्र नाघेर मोरङ गएको, प्रमाण नष्ट गरेको र मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई भगाउन सघाएको निश्कर्ष निकालिएको थियो ।
महाशाखाका सई बालकृष्ण सञ्जेलको सूचनालाई पच्छयाएर महाशाखाको टोली मोरङ पुगेको थियो। अनुसन्धानमा सञ्जेलको मुख्य अभियुक्त गोरेसँग निकट सम्बन्ध रहेको र यी दुई बिचमा लाखौं लेनदेन भएको खुलेको थियो।
यस्तै विमानस्थलमा कार्यरत रहँदा र मकवानपुर प्रहरी प्रमुख भै सकेपछि पनि एसपी खनाल र गोरेबिच निकट सम्बन्ध रहेको अनुसन्धानमा खुलेको थियो। अनुसन्धान टोलीले बरामद गरेका डायरीमा खनाललाई पाँच लाख रुपैयाँ तस्करीमा सघाए बापत भुक्तान गरेको खुलेको थियो ।
उच्च अदालतले प्रमाण आधारमा थुनामा नराखी मुद्दाको पूर्पक्षका लागि तीनैजनालाई सुविधा दिएको हो। उनीहरु बिरुद्ध मोरङ जिल्ला अदालतमा रहेको मुद्दाको सुनवाई बाँकी नै छ।