२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

वाइडबडि विमान खरिदबारे अनुसन्धान गर्दै अख्तियार

1089 Shares
Spread the love

काठमाडौं । नेपाल वायु सेवा निगमले हालै खरिद गरेका वाइडिबडि विमानको खरिद प्रक्रियामा भ्रष्टाचार भएको आवाज उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको छानविन थालेको छ ।

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले सो विमान खरिद प्रक्रियाका विषयमा आयोगले अनुसन्धान अगाडी बढाएको बुधबार संसदको राज्यव्यवस्था समितिमा जानकारी दिएका हुन् ।

आयोगले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कडा कार्वाही गर्ने प्रमुख आयुक्त घिमिरेले चेतावनीसमेत दिए ।

बुधबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनँले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धि भ्रष्टाचारको मुद्दामा आयोगले गम्भिर अनुसन्धान गरिरहेको बताए । उनले वाईडबडि विमान खरिदका सम्बन्धमा आयोगले छानवीन सुरु गरेको पनि समितिलाई जानकारी गराए ।

प्रमुख आयुक्त घिमिरेले संविधानको दायरा भित्र रहेर भ्रष्टाचारको छानवीन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए ।

आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई पनि सचेत गराएको छ । प्रमुख आयुक्त घिमिरेले स्थानीय तहलाई अनियमित काम नगर्न सचेत गराए । उनले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौति भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन पनि समितिलाई आग्रह गरे ।

बैठकमा समितिका सदस्यहरुले आयोगको काम कार्वाही पारदर्शी र इमान्दार नदेखिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका थिए । समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कार्वाही नगरेको भनि प्रश्न गरेका यिथए ।

समितिका अर्का सदस्य जनार्दन शर्माले स्वतन्त्रातापूर्वक अनुसन्धानको काम अघि बढाउन नसकेको भन्दै आयोगको आलोचना गरे । उनले आयोगले राजनीतिक प्रभावमा परेर भ्रष्टाचारमा संलग्नहरुलाई कार्वाही गर्न नसकेको दावी पनि गरे ।

समितिका सदस्यहरुले सरकारी निकायहरुमा हुने भ्रष्टाचारमाथि कडा निगरानी राख्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया