२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

वृद्धभत्ता लुट्न ‘नाति’ ले हजुरआमालाई रडले हाने

1843 Shares
Spread the love

अछाम – साँफेबगर नगरपालिका वडा नम्बर –८, चण्डीकामा नाति पर्ने एक किशोरले वृद्ध हजुरआमालाई बुधबार गम्भीर कुटपिट गरेका छन् ।

९० वर्षीया जसु भुललाई १५ वर्षीय किशोर राजन भुलले वृद्धभत्ता लुट्ने उद्धेश्यले रडले समेत टाउकोमा हानी मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । हजुरआमाले वृद्धभत्ता ल्याएको थाहा पाएर आफूले कुटपिट गरेको र पैसा नभेटेपछि फर्केर गएको युवकले स्वीकार गरेका छन् ।

घरमा कोही नभएको र नजिकै छिमेकीसमेत नभएको मौका छोपी वृद्धालाई फलामको रडले टाउको तथा घाँटीमा गहिरो चोट हुने गरी पिटेको वृद्धाका भतिजा झंकरबहादुर भुलले बताउनुभयो । एक महिनाअघि मात्रै ती किशोरले त्यही घरबाट ११ हजार चोरेका थिए । त्यतिबेला आपसमै छलफल गरी कुरा मिलाइएको प्रहरीले जनाएको छ ।

किशोरलाई प्रहरीले आवश्यक सोधपुछ गरी निगरानीमा रहने गरी आफन्तको जिम्मा लगाएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताउनुभयो । उमेर कम भएकाले कानून अनुसार थुनामा राख्न नमिल्ने भएकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

असोज ७ गते भत्ता बुझेर ल्याएको थाहा पाएपछि राति ७ बजेतिर किशोरले वृद्धालाई मरणाशन्न हुने गरी बारीमा फ्याँकेको र पछि खाना ल्याएर आउँदा बारीमा रोइरहेको भेटिएको बुहारी रबिना भुलले बताउनुभयो ।

बयालपाटा अस्पतालमा उपचार भैरहेकी वृद्धाको टाउकोमा ८ वटा टाँका लगाइएको छ । उहाँको घाँटी तथा शरीरभरि नीलडाम छन् । वृद्धाका सबै आफन्त भारतमा बस्ने गरेका छन् ।

वृद्धालाई रडले हान्ने किशोर ९ कक्षामा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया