ललितपुर – गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ ।
आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै उनले अदालत तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा चोट लागेको छ ।
‘नुरप्रसादलाई आइतबार पक्राउ गरेका थियौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त एसपी शेखर खनालले भने, ‘ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।’
नुरप्रसादले ललितपुरकी बिन्दु घतानीको घरजग्गा सम्बन्धी मुद्दाको वारेस लिएर उच्च अदालत पाटन गएको बताइएको छ । लतिलपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले आइतबार जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
माओवादी जनयुद्ध बेला मारिएका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीका माग गर्दै उनकी आमा गंगाप्रसाद अनसन बसिरहेका छिन् ।
बुबा नन्दप्रसाद अधिकारीको अनुशनकै क्रममा मृत्यु भएको थियो ।