काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई लागि पर्न आह्वान गरेका छन्।
उपसभापति निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरेका हुन्।
बिहिबारबाट काठमाडौंको बसन्तपुरमा सुरु भएको ‘लोकतन्त्र मेला’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे।
उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अन्तराष्ट्रिय समुदायको सहयोगको आवश्यक्तामा पनि जोड दिए। संविधान दिवसको अवसर पारेर आयोजना गरिएको तीन दिने लोकतन्त्र मेलामा लोकतन्त्रका लागि आवश्यक सन्दर्भसामग्रीसहितको स्टल पनि राखिएको छ।
लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको महत्वमाथि प्रकाश पार्ने उद्देश्यका साथ राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले सो मेलाको आयोजना गरेको हो।