काठमाडौँ । छोयला नेपालमा खुबै चलेको परिकार हो । तर, वास्तवमा भन्नुपर्दा छोयला नेवारी परिकार हो । उपत्यकामा बढ्दै गएको जातीय विविधता र स्थानीय परिकारलाई रेस्टुराँमा प्राथमिकता बढेसँगै छोयला सबैको जिब्रोको स्वाद बनेको छ।
विशेषगरि मासुलाई पोलेर वा उसिनेर मसलासँग साँधेको मासुलाई नै छोयला भनिन्छ । विभिन्न मासुका छोयला बनाउन सकिन्छ । चिकेन, बफ, हाँस, मटनलगायत छोयला नेपालमा बढी खाइन्छ । अझ बढी त बफ छोयला नै बिक्री हुन्छ । आफूलाई मनपर्ने मासुको छोयला घरमै बनाउन सकिन्छ ।
छोयला बनाउन आवश्यक सामग्री
बफ, मटन, चिकेन या आफूलाई मन पर्ने एक किलो मासु (बासो नभएको, मन पर्ने भए छाला राख्न सकिन्छ)
रातो खुर्सानी ५० ग्राम
लसुन ५० ग्राम
अदुवाको पेस्ट ५० ग्राम
जिरा एक चम्चा
धनियाँ एक चम्चा
मरिच आधा चम्चा
टिमुरको धुलो आवश्यकताअनुसार
नुन–बेसार इच्छाअनुसार
हरियो लसुन आवश्यकताअनुसार
कसरी बनाउने
(मासु सफा गरेर चेप्टो तथा लामो पिस तयार गर्ने ।
(नुन र बेसारमा राम्रोसँग मोल्ने ।
(राम्रोसँग मोलिएको मासुलाई आधा घन्टासम्म त्यसै रहन दिने ।
(गोल, कोइला या ग्यासमा एउटा जाली राख्ने र मोलेर तयार पारिएको मासुलाई राम्रोसँग सेक्ने ।
(सेकेको मासुमा उपलब्ध सबै सामग्री, जस्तै : धुलो रातो खुर्सानी, लसुन, अदुवा, जिरा, धनियाँ, मरिच, टिमुर राख्ने । साथै, तेल पनि तताएर राख्ने ।
(सबै सामग्री मिसाएको मासुलाई मजासँग मोल्ने, मसलाजन्य सामग्री मासुमा राम्रोसँग लाग्न पाओस् ।
(स्वाद मन पर्छ भने थोरै कागती पनि राख्न सकिन्छ । जाडोमा चट्ट पिरो र अमिलो स्वादको छोयला खान खुब मजा हुन्छ ।