फाइल फोटो
काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले स्विजरल्याण्डस्थित स्विस बैंकमा नेपालीले राखेको अरबौं रुपैयाँ छानवीन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभाका सांसद खिमकुमार विश्वकर्माले स्विस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानवीन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले अरर्बौंको सो कालो धन छानवीन गरी राष्ट्रियकरण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
सांसद अनिता देवकाटाले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्ड जीर्ण अवस्था रहेको उल्लेख गर्दै तत्काल मर्मत, संहार गर्न सरकारसँग माग गरिन्। उनले सो सडकखण्डमा निर्माणाधीन पुल निर्माणमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन्।
स्विस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख
सांसद कमलाकुमारी ओलीले कैलाली जिल्लाको महन्याल गाउँपालिकास्थित १२ सय घरपरिवारलाई लालपूर्जा दिएपनि जग्गाको कित्ताकाट र नक्सा उपलब्ध नगराएको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराइन्। उनले २०३६ सालमा लालपूर्जा पाएका उनीहरुलाई जग्गाको कित्ताकाट र नक्साको पनि तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।
प्रदेश नम्बर १ को मूलद्वारको रुपमा रहेको कोशी व्यारेज नजिक भण्टाबारीमा रहेको पुल तत्काल निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ। सांसद खेमराज नेपालीले भण्टाबारी नजिक रहेको सो पुल तत्काल निर्माण गर्न सरकारसँग माग गरेका हुन्। अर्की सांसद उदया शर्मा पौडेलले संविधान कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलहरु मिलेर अघि बढनुपर्ने धारणा राखिन्।