फाइल फोटो
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी शैक्षिक नीति तथा कार्यक्रम तय गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।
मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले मानव उचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनुपर्ने उल्लेख गरे। उनले मुलुकलाई सुशासन र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै सबै क्षेत्रलाई सो लक्ष्य हासिल हुनेगरी अघि बढन पनि आह्वान गरे।
प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्य हासिल हुने गरी अघि बढन पनि त्रिभुवन विश्वविद्यालयलाई सचेत गराए। उनले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरिसक्ने प्रतिवद्धता नेपालले पनि जनाएकाले सोही अनुसारको काम, कार्वाही अघि बढाउन पनि विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले अपेक्षित प्रगति गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले विश्वविद्यालयका पदाधिकारीको नियुक्ती कार्य क्षमताको आधारमा गर्ने उल्लेख गर्दै परिवर्तित समयलाई सम्बोधन हुने गरी काममा लाग्न पनि विद्यालयलाई पदाधिकारीलाई सचेत गराए। त्रिभुवन विश्वविद्यालयका सहकूलपति समेत रहनु भएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई तदर्थवादको रुपमा चलाउन नहुने बताए।