वाशिंगटन डीसी । विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट अमेरिकी डायस्पोरामा नेपाली मूलका अमेरिकीहरूबाट अमेरिकाको मूल राजनीतिमा सहभागिताको लागि प्रयास गरेका समाचारहरू आइरहेका छन् ।
मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट हाउस अफ डेलिगेटमा ह्यारी भण्डारी होस वा न्यू ह्याम्सार राज्यबाट मदलासा गुरूंग वा भर्जिनिया राज्यको हरन्डनबाट सिटी अफ हरन्डनको काउन्सिल मेम्बरमा प्रदीप ढकाल नै किन नहोस यि सबै उम्मेदवारहरू आफ्नो जागीरको लागि मात्र नभएर नेपालीहरूको प्रतिष्ठाको लागि आफ्नो उमेद्वारी दिइरहेका छन् ।

उनीहरूको यो बिजय वा पराजय उनीहरूसँग मात्रै सिमित रहँदैन यहाँ रहेका सबै नेपालीहरूको प्रतिष्ठा समेत जोडिएको छ । उनीहरूको अभियानलाई विजयी बनाउन हाम्रो के कस्तो भूमिका रहन्छ त ? यो अहिलेको बहसको विषय बनेको छ ।
एउटा नेपालीले प्रवाशमा आएर गरेको संघर्षका कथाहरू फरक फरक छन् , तिनै संघर्ष नै संघर्षका बीच हाम्रो देशको परिचय र हाम्रो पहिचानलाई उच्च स्थानमा राख्नका लागि कोशिस गर्ने सबै नेपाली उम्मेदवारहरूलाई क्षमताले भ्याएसम्म साथ सहयोग गर्नुपर्ने अमेरिकामा रहेका नेपालीहरुले बताएका छन् ।

नेपाली मूलका उम्मेदवारहरूलाई नेपालीको मात्र मतले बिजयी बनाउन सकिँदैन तर बिजयी बनाउने बाताबरण श्रृजना सकिने प्रवासी नेपालीहरुको विश्वास छ ।
जस्तो कि अमेरिकी निर्बाचनमा उम्मेदवारका बिचार वा घोषणा पत्रहरू मतदाताका बीचमा पुर्याउनका लागि पोष्टल सर्भिसबाट नै आफ्ना बिचारहरू पुर्याउनका लागि पठाईने पत्रहरूले यहां बढी महत्व राख्ने भएकोले त्यो धेरै पटक एउटै ब्यक्तिकोमा पठाउन रकमको आवश्यकता पर्ने भएकोले त्यसको रकम जोहो गर्न फण्ड रेज गर्नु पर्नेहुन्छ ।
अमेरिकाका कुनै पनि राज्यमा रहेका नेपालीहरू जो वैधरूपमा अमेरिकामा बसेका छन्, उनीहरुले ती उम्मेदवारहरूका लागि आर्थिक सहयोग गर्न सक्छन् । त्यस पछि चुनाबी सन्दर्भमा घर घर को यार्डमा राखिने उम्मेदवारको नाम अंकित प्ले कार्ड पनि राखेर सहयोग गर्न सकिनेछ । उम्मेदवारका लागि गरिने प्रदर्शनीमा समेत साथ दिएर पनि सहयोग गर्न सकिने छ ।
निर्वाचनका दिन अधिकतम स्वयम् सेबकको रूपमा समेत सहयोग गर्न सकिने छ । अमेरिकाको निर्बाचनमा हाम्रो उपस्थिति र बिजय हुदैं जाने हो भने हाम्रो नेपालको राजनीति प्रतिको मोह पनि कम हुदै जान्छ ।
जुन देशमा नेपालीहरू बसेका छन् त्यहीको पद्दतीमा समाहित हुनलाई पनि ठूलो सहयोग मिल्नेछ । नेपालीहरूले जे जति गर्न सक्छन् सबैले आआफ्नो ठाऊबाट सहयोग गर्न जरूरी रहेको प्रवासीहरुको भनाई छ ।
अहिले यी सबै उम्मेदवारहरू आर्थिक रूपमा निक्कै संकटमा परेको उनीहरूका बिचारहरूबाट नै बुझ्न सकिन्छ । यि उम्मेदवारहरूले जुन तहमा पुगेका छन् यो तहसम्म पुग्नका लागि उनीहरूले धेरै संघर्ष गरेका छन् । यहाँसम्म आइपुगेकाले पनि यो समयमा प्रवासी नेपाली सबैले उनीहरूलाई साथ सहयोग दिनु जरुरी हुनेछ ।