काठमाडौं । नेपाल सरकारले साउदी अरब जाने नेपाली कामदारका लागि न्यूनतम तलबमा वृद्धि गरेको छ । कामदारलाई फाइदा हुने गरी नेपाल सरकारले १३ सय रियाल अर्थात् करिब साढे ३९ हजार नेपाली रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।
अब साउदी अरबका कम्पनीले नेपाली कामदार लिनका लागि कम्तीमा पनि १३ सय रियालभन्दा माथि काम लगाउनुुपर्नेछ । सरकारले ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन गरेको हो । साउदी अरबका रोजगारदाता कम्पनीले यसअघि न्यूनतम ८ सय रियालमा नेपाली कामदार लैजाने गरेका थिए ।
अब नेपाली कामदार लैजानुपरे न्यूनतम पारिश्रमिक एक हजार रियाल र खानाबापत ३ सय गरी १३ सय रियाल दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि न्यूनतम पारिश्रमिकमा बढोत्तरी भएको हो ।
अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला एक हजार रियाल र खाना भत्ता ३ सय रियालदेखि अधिकतम ज्याला ११ हजार रियाल र खाना भत्ता ५ सय रियाल पाउनेछन् । सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् ।
यसअघि ८ सय न्यूनतम ज्याला र खाना भत्ता २ सय रहेकोमा नयाँ व्यवस्थाअनुसार अदक्ष कामदारले एक महिनामा थप तीन सय रियाल बढी पाउनेछन् । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।
यसअघि, कम्पनी हेरेर मात्र यस्तो सुविधा नेपाली कामदारले पाउने गरेका थिए । कतिपय कामदारले आफ्नै खर्चमा टिकट काटेर स्वदेश फर्किनुपर्ने थियो । तर, अब सबै कम्पनीले अनिवार्यरूपमा नेपाल आउने र जाने हवाई टिकट दिनुपर्ने सर्त राखिएको छ ।
न्यूनतम ज्यालामा भएको नयाँ व्यवस्थाले साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यावसायिक कामदार बढी लाभान्वित हुनेछन् । रोजगारीका लागि अहिले साउदीमा रहेका नेपाली कामदारले भने पुनः श्रम स्वीकृत गराएपछि मात्र नयाँ निर्धारण गरिएको सुविधा पाउने मन्त्रालयले जनाएको छ । अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ ।
सरकारले लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाई र वाचमेनमा काम गर्न जाने व्यक्तिलाई अदक्ष कामदारका रूपमा वर्गीकरण गरेको छ । ती कामका लागि साउदी जाने अदक्ष नेपाली कामदारले अब न्यूनतम पारिश्रमिक साउदी रियाल एक हजार (करिब नेपाली ३० हजार) पाउनेछन् ।
यसअघि, साउदीमा काम गर्न जाने अदक्ष कामदारको पारिश्रमिक साउदी रियाल ८०० (नेपाली करिब २२ हजार) निर्धारण गरिएको थियो । ती कामदारले खाना भत्ताबापत साउदी रियाल ३०० (नेपाली करिब नौ हजार) प्राप्त गर्नेछन् । यसअघि, खाना भत्ताबापत कामदारले साउदी रियाल २०० (नेपाली करिब ६ हजार) पाउँदै आएका थिए ।
सरकारले अदक्ष कामदारका लागि औषधोपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात सुविधा कम्पनी वा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत गरेको छ । न्यूनतम पारिश्रमिक र अन्य सुविधा वृद्धि भएसँगै एक अदक्ष नेपाली कामदारले आवास सुविधासहित कम्तीमा मासिक साउदी रियाल एक हजार ३०० (नेपाली करिब ४० हजार) पारिश्रमिक पाउनेछन् ।
मेसन, ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रिकल हेल्पर, स्टिल पिक्स्चर, टायल फिक्स्चर, प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, एसी मेकानिक, लाउन्ड्री म्यान, वासर मेन, सप एसिस्टेन्स, सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स म्यान र इलेक्ट्रिसियनलगायत अर्धदक्ष कामदारको पनि पारिश्रमिक पुनरावलोकन गरिएको छ ।
उनीहरूले अनुभव र सीपका आधारमा साउदी रियाल एक हजार २०० देखि एक हजार ५०० सम्म पारिश्रमिक पाउनेछन् । यसअघि, अर्धदक्ष कामदारले साउदी रियाल एक हजार पाउँदै आएका थिए ।
सामान्य तालिम प्राप्त अर्धदक्ष कामदारले साउदी रियाल एक हजार २००, दुई वर्षको कार्यानुभव भएका व्यक्तिले एक हजार ३००, चार वर्ष कार्यानुभव भएका व्यक्तिले एक हजार ४०० र पाँच वर्षको कार्यानुभव वा आधारभूत दक्ष तह (लेभल–१० व्यक्तिले साउदी रियाल एक हजार ५००) पारिश्रमिक पाउने श्रम मन्त्रालयले जनाएको छ ।
तालिमप्राप्त हलुका सवारी चालकको पारिश्रमिक साउदी रियाल एक हजार ३००, दुई वर्ष अनुभव भएको चालकको एक हजार ४००, चार वर्ष अनुभव भएको चालकको एक हजार ५०० र पाँच वर्ष अनुभव भएको हलुका सवारी चालकले साउदी रियाल एक हजार ६०० पारिश्रमिक पाउनेछन् ।
मालबाहक सवारीचालकले साउदी रियाल एक हजार ५००, दुई वर्ष अनुभव भएकाले एक हजार ८००, चार वर्षको अनुभव भएकाले एक हजार ९०० र पाँच वर्षको अनुभव भएकाले साउदी रियाल दुई हजार २०० पाउनेछन् । मालबाहक सवारीचालकलाई प्रत्येक यात्राको यात्रा भत्ता अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।
आधारभूत तहको अनुभव र सीप भएका प्लान्ट अपरेटर, कन्स्ट्रक्सन सुपरभाइजरको पारिश्रमिक साउदी रियाल दुई हजार, फोरम्यानको साउदी रियाल दुई हजार २०० र कन्स्ट्रक्सन इक्युपमेन्ट अपरेटर, स्काफोल्डिङ सुपरभाइजर तथा ड्राउटसम्यानको न्यूनतम पारिश्रमिक साउदी रियाल दुई हजार ५०० हुनपर्ने व्यवस्था गरिएको छ । सरकारले आधारभूत अनुभव र सीप हासिल गरेका दक्ष कामदारले पाउने पारिश्रमिक पनि पुनरावलोकन गरेको छ । दक्ष कामदारले अब खानाभत्ता साउदी रियाल ५०० सहित न्यूनतम एक हजार २०० देखि तीन हजार साउदी रियाल पाउनेछन् ।
वेकर्सको साउदी रियाल एक हजार २००, कुकको एक हजार ४००, फ्रन्ट अफिसको एक हजार ५००, एडमिनिसट्रेटिभ असिस्टेन्टको एक हजार ८००, कम्युटर अपरेटरको दुई हजार, फर्मासिस्ट, ल्याबरेटोरी र टेक्निसियन तथा मेडिकल असिस्टेन्टको दुई हजार २००, एकाउन्टेन्ट, ओभरसियरको दुई हजार ५०० र नर्सको न्यूनतम पारिश्रमिक साउदी रियाल तीन हजार तोकिएको छ ।
सरकारले विशेषज्ञता हासिल गरेका व्यावसायिक कामदारको पनि पारिश्रमिक पुनरावलोकन गरेको छ । अब साउदी अरबमा काम गर्न जाने एच आर एक्जिक्युटिभले साउदी रियाल पाँच हजार पारिश्रमिक पाउनेछन् ।
इन्जिनियर (कम्प्युटर सेफ्टी, टेलिकम, इलेक्ट्रिोनिक, मेकानिकल, इलेक्ट्रिकल र सिभिल) ले साउदी रियाल पाँच हजार ३००, म्यानेजरले पाँच हजार ५००, जनरल म्यानेजरले न्यूनतम पारिश्रमिक साउदी रियाल ६ हजार ५०० प्राप्त गर्नेछन् । चिकित्सक (जनरल फिजिसियन) सर्जन र चार्टर्ड एकाउन्टेन्टको न्यूनतम पारिश्रमिक साउदी रियाल ११ हजार तोकिएको छ ।
साउदी अरब नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । विगत १० वर्षमा साउदी अरबमा सात लाख ६५ हजार २६८ नेपाली कामदार रोजगारीका लागि गएका मन्त्रालयले जनाएको छ । त्यहाँ नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन एवं वृद्धिबाट ठूलो संख्यामा रोजगारीका लागि जाने नेपाली कामदारको आयमा वृद्धि हुनुका साथै समग्रमा वैदेशिक रोजगारीलाई बढी प्रतिफलमुखी बनाउन सहयोग पुग्ने मन्त्रालयले विश्वास गरेको छ ।
रियादस्थित नेपाली दूतावासले गत पुसदेखि साउदीमा मूल्य अभिवृद्धि कर (भ्याट)लगायत अन्य करको कार्यान्वयनबाट कम आयस्रोत भएका नेपाली कामदारमाथि प्रत्यक्ष असर परेको भन्दै पारिश्रमिक पुनरवलोकन गर्न सरकारलाई सुझाव दिएको थियो । भारत, श्रीलंका, पाकिस्तान, फिलिपिन्सलगायत देशका कामदारका तुलनामा नेपाली कामदारको न्यूनतम पारिश्रमिक प्राप्त गर्दै आएका छन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगारीमा जाने कामदारले पाउने न्यूनतम पारिश्रमिक तोक्न सक्ने व्यवस्था गरेको छ ।