२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

माओले पहाड खोलेर बनाएको घर हेरेर दंग भए प्रचण्ड

1475 Shares
Spread the love

काठमाडौ । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् ।

अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन स्थलको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।

सोही महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पु¥याउने ऐतिहासिक निर्णय गरेको मानिन्छ । प्रचण्डले सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गरे ।

सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहनुभएका चिनियाँ क्रान्तिका नेता माओ त्से तुङले पहाड खोलेर बनाइएको घरको अवलोकन गरे ।

स्थानीय उपप्रमुख, चिनियाँ कम्युनिस्ट पार्टीका नेता र जनमुक्ति सेनाले अध्यक्ष दाहालको स्वागत गरेको थियो । अवलोकनका क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलको संरक्षण गरेर विश्वभरिकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामग्री प्रदान गरेको बताए ।
उनले अवलोकन गरिएका स्थलका बारेमा पुस्तकमा पढेको तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुशी लागेको बताए ।

यस्तै आइतबार बिहानै अध्यक्ष प्रचण्ड ग्वान्जाओबाट सान्सी प्रान्तका लागि प्रस्थान गरेका थिए । उक्त शहर विश्वकै ठूलो मोटरसाइकल कारखानाका लागि प्रसिद्ध छ । सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए । प्रचण्डले मोटरसाइकल, मोटर र सूचना प्रविधिसम्बन्धी उद्योगको अवलोकन गरे ।

सोही क्रममा प्रचण्डले भने, ‘नेपालमा बलियो कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार बनेको छ । यो बेला नेपालको विकास गर्ने बेला हो । चीन र नेपालका बीचमा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौता भएको छ । उक्त सम्झौता यो नेपाल र चीनका लागि धेरै महत्वपूर्ण छ ।’

उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’कै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताए ।

प्रतिक्रिया