सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले सितल निवासमा सपथ ग्रहण गराएसँगै उनले साँझ सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।
संसदीय सुनुवाई समिति साेमबार बिहान प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गरेको थियो । उनलाई राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गरेकी थिइन् । पदभार ग्रहण गरेपछि उनले संचारकर्मी माझ न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नवनियुक्त प्रधानन्यायाधीश मिश्रले न्याय सेवालाई प्रभावकारी बनाउन उपयुक्त विधि स्थापित गराउन आफूले पहल गर्ने बताए । उनले संहिताहरुको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने बताएका छन् । उनले न्याय सेवालाई प्रभावकारी बनाउन न्यायाधीशहरुको दक्षता वृद्धिको कामलाई अघि बढाउने योजना सार्वजनिक गरेका थिए ।
२०७१ साल जेष्ठ १३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका मिश्रलाई अप्रत्याशित रुपमा प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय समितिले अस्वीकृत गरेपछि दोस्रो वरियतामा रहेका उनलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको हो । उमेर हदका कारण मिश्रको कार्यकाल आगामी पुस १७ गतेसम्म हुनेछ ।