२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

1429 Shares
Spread the love

काठमाडौं – नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने भएको छ।

आइतबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले  माल्दिभ्सलाई २–० ले पराजित गरेको हो । यससँगै माल्दिभ्स र श्रीलंकाको समान १ अंक भए पनि गोलाप्रथाबाट उपविजेता बनेको माल्दिभ्सलाई समूह ‘ए’ को विजेता नेपालले प्रतिद्वन्द्वीका रूपमा पाएको हो।

३६औं मिनेटमा निखिल पुजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा मानवीर सिंहले माल्दिभ्सको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै भारतको अग्रता दोब्बर पारेका थिए।

समूहमा हात पारेको लगातार दोस्रो जितपछि भारत ६ अंकका साथ समूहविजेता बन्दा १ अंक जोडेको माल्दिभ्स गोलाप्रथामा भाग्यमानी साबित बन्दै उपविजेताका रूपमा अन्तिम ४ मा प्रवेश गरेको हो । भारतले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो। यता माल्दिभ्स भने समूहको पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको थियो। भारतले समूह ‘ए’ को उपविजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालले शनिबार समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० ले हराउँदै साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको थियो।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको नेपाल समूह ‘ए’ बाट विजेताको हैसियतसहित सेमिफाइनल पुगेको हो। समान ६ अंक भए पनि नेपालसँग पराजित भएपछि गोलअन्तरमा पछाडि परेको आयोजक बंगलादेश प्रतियोगिताबाट बाहिरिएको थियो भने भुटानलाई ३–० ले हराएको पाकिस्तान उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।

पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० तथा बंगलादेशलाई २–० ले हराउँदै अघिल्लो चरणमा स्थान बनाएको हो। सेमिफाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया