बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्दैछ । यो रकम सिरम इनिस्टच्युटलाई उपलब्ध गराइनेछ र यो रकमले सिरमको घाटा पूर्ति गर्नेछ ।
आफ्नो घाटा पूर्ति भएपछि सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउनेछ । यो सस्तो मूल्य कोभ्याक्स एलायन्स अन्तर्गतका ९२ देशहरुको लागि हो र गाभीको यी ९२ देशको सूचीमा नेपाल पनि समावेश छ । सिरम इन्स्टिच्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरेको छ ।
सिरम इन्स्टिच्युटका सीइओ अदर पूनावालाले भनेका छन् ‘भाइरसको व्यापक प्रसारले पूरै विश्वलाई अनिश्चिततामा पारेको छ । पूरै विश्वमा खोप अभियान चलाउन र महामारी रोक्नको लागि विश्वका सबैभन्दा दूरदराज र गरिब देशहरुमा सस्तो उपचार र निवारक उपायमा पहुँच सम्भव होस् भन्ने सुनिश्चित गर्नु निकै महत्वपूर्ण छ । यो सहकार्यको माध्यमबाट हामीले यो भयानक संक्रमणबाट लाखौंको जीवन बचाउन आफ्ना निरन्तर प्रयासलाई पूरा गर्न चाहन्छौं । अक्सफोर्डको भ्याक्सिनले गत हप्ता भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति पाइसकेको छ ।




