२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

दक्षिण सुडान: हत्या, बलात्कारमा १० सैनिक दोषी ठहर

3102 Shares
Spread the love

दक्षिण सुडानको एउटा सैनिक अदालतले १० सैनिकलाई एक पत्रकारको हत्या गरेको र विदेशी सहायताकर्मीहरूको बलात्कार गरेको ठहर गरेको छ।

दोषीहरूलाई सात वर्षदेखि आजीवन कारावासको सजाय सुनाउँदै सो अदालतले सरकारलाई प्रत्येक बलात्कारपीडितलाई चार हजार डलर क्षतिपूर्ति दिन आदेश गरेको छ।

सन् २०१६ मा राजधानी जुबास्थित एउटा होटेलमा आक्रमण गरिँदा ती अपराधहरू गरिएका थिए।

संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनमा शान्ति स्थापनार्थ खटाइएका सैनिकहरूले सहयोगका लागि गरिएका याचनाको प्रतिक्रिया नजनाएको आरोप लगाएको छ।

सन् २०१३ मा गृहयुद्ध सुरु भएदेखि दक्षिण सुडानमा सरकारी सेना र विद्रोही समूहले धेरै अत्याचार गरेका छन्।

जुबामा भएको घटना विदेशीहरूविरुद्ध गरिएको सबैभन्दा नराम्रो आक्रमण थियो।

अदालतमा के भयो?

अदातलले सरकारलाई सो घटनामा मारिएका स्थानीय सामुदायिक रेडिओमा काम गर्ने पत्रकारको परिवारलाई ५१ वटा गाई दिन आदेश दिएको छ।

दक्षिण सुडानतस्वीर कपीराइट Reuters

घटना हुँदा उनी सो होटेलको परिसरभित्र लुकेर बसेका थिए।

सरकारी सैनिक र विद्रोही फौजबीच सङ्घर्ष हुँदा त्यहाँ आक्रमण गरिएको थियो।

उनको हत्यामा दुई सैनिकहरू दोषी पाइए। उनीहरूले आजीवान कारावासको सजाय पाएका छन्।

अरू तीन जनालाई सहायताकर्मीहरूको बलात्कारमा दोषी ठहर गरियो भने चार जनाले यौनदुर्व्यवहार गरेका र एक जनाले चोरी र डकैती गरेको भेटियो।

उनीहरूले सातदेखि १४ वर्षको कारावास पाएका छन्।

बिहीवार निर्णय सुनाइँदा सो सैनिक अदातलकको कक्षमा विदेशी कूटनीतिज्ञ, सहायताकर्मी र अधिकारीहरू उपस्थित थिए।

अभियोग लागेका एक सैनिकले सफाइ पाएका छन्। फैसला आउनुअघि नै अर्का एक जनाको भने हिरासतमा मृत्यु भएको थियो।

जुबामा भएको तीनदिने सङ्घर्षमा शान्तिसेनामा खटिएका दुई सुरक्षाकर्मीसहित तीन जनाको मृत्यु भएको थियो।

सो होटेलमा आक्रमण गरेर सैनिकहरूले पाँच विदेशी सहयाताकर्मीको बलात्कार गरेका थिए।

निर्णय सुनाइँदा सो सैनिक अदातलकको कक्षमा विदेशी कूटनीतिज्ञ, सहायताकर्मी र अधिकारीहरू उपस्थित थिएतस्वीर कपीराइट Reuters

प्रतिक्रिया कस्तो छ?

एक बलात्कारपीडित महिलाका वकिलले सो फैसलाबाट आफ्नो पक्ष सन्तुष्ट नरहेको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार क्षतिपूर्तिको रकम ‘एकदमै लाजमर्दो’ भएको र त्यसले ‘पीडितहरूको अपमान’ गरेको छ।

प्रतिवादीहरूका वकिलले भने सो फैसलाबाट आफू छक्क परेको र पुनरावेदन गर्ने बताएका छन्।

मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले फैसलाको स्वागत गरेको छ।

आक्रमण हुँदा के भएको थियो?

मुद्दा चल्दा होटेलका प्रबन्धक माइक उडवार्डले अदातललाई बताएअनुसार ५० देखि १०० सैनिकहरूले होटेलमा छिरेर लुटपाट गर्नुका साथै पाँच महिलाको बलात्कार गरेका थिए। उनी ब्रिटिश नागरिक हुन्।

एउटा समूह सीधै (मदिरा राखिएको) बारतिर गएको र अर्को समूह चाहिँ आवासीय क्षेत्रतिर हानिएको उनले अदालतसमक्ष बयान दिएका थिए।

उनका अनुसार केही घण्टा चलेको सो आक्रमणमा कुटपिट तथा यातना र मृत्युदण्ड दिइएको नक्कल पनि गरिएका थिए।

होटेलनजिकै भए पनि शान्तिसेनाले उद्धार नगरेको र कुनै प्रतिक्रिया नजनाएको आरोप लागेपछि संयुक्त राष्ट्रसङ्घले अनुसन्धानको आदेश दिएको थियो।

अनुसन्धानमा राष्ट्रसङ्घको शान्तिसेनाबाट त्रुटि भएको देखिएपछि शान्तिसेनाको नेतृत्व गरिराखेका केन्याका सैन्य अधिकारीलाई पदमुक्त गरिएको थियो।

राष्ट्रसङ्घले दक्षिण सुडानमा १३ हजार सैनिक खटाएको छ।

प्रतिक्रिया