रियो दि जिनरियो । ब्राजिलको विदेश मन्त्रालयले अर्जेन्टिनाका लागि आफ्ना राजदूत जुलियो बिटेलीलाई दुई देशबीचको सम्बन्धबारे परामर्श गर्न फिर्ता बोलाएको छ।
ब्राजिलका विदेशमन्त्री माउरो भिएराले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग परामर्श गरे पछि यो निर्णय गरेका हुन्।
अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइली शनिबार साओ पाउलोमा आयोजित ब्राजिलको लिबरल पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए, जहाँ उक्त पार्टीले पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा मनोनयन गरेको थियो।
आफ्नो सम्बोधनमा माइलीले लुला सरकारको आलोचना गरेका थिए र जेलमा रहेका पूर्वराष्ट्रपतिलाई भेट्नबाट आफूलाई रोक लगाउने सर्वोच्च संघीय अदालतका न्यायाधीश अलेक्जेन्डर डे मोरेसको निर्णयको विरोध गरेका थिए ।
सर्वोच्च संघीय अदालतका अध्यक्ष लुइज एडसन फाचिनले पछि माइलीद्वारा मोरेसप्रति गरिएको ‘अशिष्ट अपमान’ लाई अस्वीकार गर्दै ती टिप्पणीहरूले देशहरूबीचको कूटनीतिक मान्यताको उल्लंघन गरेको बताए।
फाचिनले ब्राजिलको न्यायपालिका पूर्ण रूपमा स्वायत्त रहेको र मोरेसले देशको संविधान तथा कानुनअन्तर्गत ब्राजिलमा आफ्नो न्यायिक कर्तव्य निर्वाह गरिरहेको बताए। समाचारहरूका अनुसार ब्राजिल भ्रमणका क्रममा माइलीले लुलासँग भेटवार्ताको प्रयास गरेनन् र लुलाको पनि उनलाई भेट्ने कुनै योजना थिएन।
सन् २०२२ को राष्ट्रपति निर्वाचनमा पराजित भएपछि सत्ता कब्जा गर्ने प्रयास गरेको आरोपमा बोल्सोनारो माथि फौजदारी अभियोग लगाइएको थियो। सेप्टेम्बर २०२५ मा ब्राजिलको सर्वोच्च संघीय अदालतले उनलाई सत्ता कब्जाको षड्यन्त्र रचेकोमा दोषी ठहर गर्दै २७ वर्ष ३ महिनाको जेल सजाय सुनाएको थियो ।