काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुकी (फौजदारी) संहिता ऐनमा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने बुँदाहरु तत्काल संशोधन गर्नका लागी सभामुख कृष्ण वहादुर महराको ध्यानाकर्षण गराएको छ ।
बिहीबार सिंहदरबारमा सभामुख कृष्ण वहादुर महरालाई ज्ञापन पत्र बुझाउदै महासंघले पूर्ण प्रेस मैत्री ऐन बनाउनका लागी मुलुकी (फौजदारी) संहिता ऐन २०७४ को संसोधनको माग गरेको हो ।
महासंघले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गर्दे आएको छ ।
सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने बताउँदै महासंघले लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै सभामुख महराले यस बिषयमा आफुहरुले कानुनमन्त्रालयसंग कुरा गरेको र बिषयगत समितिमा उक्त ऐनमाथि छलफल हुदा पत्रकार महसंघका प्रतिनिधीलाई पनि बोलाईने जानकारी दिए ।
महासंघले ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशनरप्रसारण गर्न बाधा हुन सक्ने ठहर समेत गरेको छ ।