भदौ २१ -कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा विभिन्न कमजोरी फेला परिरहेका छन् । घटनामा संलग्नलाई चोखाउन खोजिएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।
आन्दोलनकैबिच प्रहरीले एक मानसिक सन्तुलन ठिक नभएका दिलिप विष्टलाई अपराधीको सार्वजनिक गरेको थियो । त्यसपछि आन्दोलन झन चर्कियो । यतिबेला घटनाले नयाँ मोड लिएको छ । अनुसन्धाकै लागि भन्दै तीन टोली सक्रिय छन् ।
जिल्ला प्रहरी, सीआईबी र सरकारले पठाएको छानविन समितिले घटनाको अनुसन्धान गरिरेहेको छ । तर दिलिप बिष्टलाई अपराधि भन्दै प्रहरीले भेला पारेका प्रमाणका विषय पूर्व प्रहरी अधिकारीहरु नै अचम्ममा परेका छन् ।
सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी डा. कृष्णकुमार तामाङले प्रहरीको अनुसन्धानप्रति प्रश्न चिन्ह खडा गरेका हुन् । नेपाल प्रहरीमा समेत सेवा गरेका पूर्व एआइजी तामाङले घटनामा संलग्न भनिएका दिलिप विष्टले बलात्कार गर्दा कण्डमको प्रयोग गर्यो भन्नु हास्यास्पद भएको बताए ।
उनले भने, ‘बलात्कार गर्दा यसले कति बेला कण्डम लगायो होला ? त्यो त एउटा सबैले अनुमान लगाउने विषय पनि हो । घटनास्थलमा कण्डम भेटियो भन्नु प्रहरीको हास्यास्पद अभिव्यक्ति मात्रै हो ।’
उनले भने, ‘समान शारिरीक अवस्था भएको सिंगो पुरुषले पनि एक महिलालाई बलात्कार गर्न सक्दैन । यो वैज्ञानिक अध्यननबाट प्राप्त भएको कुरा हो । त्यसमाथि बलात्कार गर्ने त्यो पनि कण्डम लगाएर सम्भव छैन । किनभने बलात्कारको बेला त्यति समय नै हुँदैन पुरुषसँग ।’
निर्मला पन्तको केशमा एक व्यक्तिले बलात्कार गरेको भन्ने कुरा आएको भन्दै उनले भने, ‘यदि बलात्कारको बेला दुई वा दुई भन्दा बढी बलात्कारहरु छन् भने पीडितलाई समातेर राख्न सक्छन् । कण्डम लगाएर पनि बलात्कार हुन सक्छ । तर यो चाहिँ अनुसन्धान टोलीको ध्यान अन्यत्र मोड्नका लागि यस्तो गरिएको हुन सक्छ । बेहोस वा अचेत अवस्थामा पुर्याइएकोे हो भने मात्रै कण्डम प्रयोग हुन सक्छ । घटनास्थलमा शव कहाँबाट आयो, कहाँबाट ल्याएर फालियो सबै कुरा बुझ्नुपर्छ । निर्मलासँग सम्बन्धित सबैसँग बुझ्नुपर्छ ।’
कहिले शव फेला नपर्दा पनि हत्यारा समात्न सकिने भन्दै उनले भने, ‘निर्मलाको त शव पनि भेटिएकै हो । प्रारम्भिक अनुसन्धान पनि भएको छ । केही प्रमाण नष्ट गरेको आशंका पनि छ । सुरुमा जति राम्रोसँग प्रमाण भेटिन्छ, त्यति प्रमाण अब भेटिँदैन ।’
उनले एक युट्युव च्यानललाई दिएको अन्र्तवार्तामा अबको अनुसन्धान नयाँ तरिकाले मात्र अपराधीसम्म पुग्ने दाबी गरेका छन् । सुरुमा जति राम्रोसँग प्रमाण भेटिएको थियो अब त्यो सम्भव नभएको भन्दै उनले नयाँ तरिकाले अनुसन्धान गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘अब अन्य विषयमा अनुसन्धान गरेपछि मात्रै अपराधी फेला पार्न सकिन्छ । अनुसन्धानमा जो खटिएको थियो, उसले प्रमाण नष्ट गर्यो वा कर्तव्य पालना गरेन भने त्यस्तालाई कडा कारबाही हुनुपर्छ ।’