२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

एसिया कप छनोट : नेपालको सम्भावना कति ? यस्तो छ अंकगणित

1794 Shares
Spread the love

फाइल तस्बिर


काठमाडौं : मलेसियामा जारी एसीसी एसिया कप छनोटमा सुरुका दुई खेलमा पराजित भएको नेपालले पछिल्ला दुई खेलमा जित हात पारेको छ ।  छनोट प्रतियोगितामा सहभागी ६ टोली मध्ये शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि विजेता टोलीले  सेप्टेम्बर १५ देखि यूएईमा हुने एसीसी एसिया कपमा सहभागी हुन पाउने छ ।

५ महिनाअघि मात्रै आईसीसीबाट पहिलो पटक एसद्विवसीय क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएको नेपालका लागि एसिया कपमा सहभागी हुन पाउनु ठूलै उपलब्धी हुन्छ । शीर्ष २ मा रहँदै यस प्रतियोगिताको उपाधि जितेमा नेपालले एसिया कपमा क्रिकेटका हस्ती भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा रहेर खेल्ने मौका पाउने छ ।

एसिया कपमा छनोट भर्इ भारत पाकिस्तानको सिनियर टोलीसँग प्रतिस्पर्धा गर्ने नेपालको सपना भने निकै कठीन देखिन्छ । पहिलो खेलमा ओमनसँग ७ विकेट र दोस्रो खेलमा यूएईसँग ७८ रनले पराजित भएपछि एसिया कपमा छनोट हुने नेपालको यात्रामा कठिनाई उत्पन्न भएको हो ।

प्रतियोगितामा सहभागी सबै टोलीका एक खेल मात्रै बाँकी रहँदा नेपाल ४ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । ७ अंक रहेको ओमान पहिलो, ६ अंक रहेका यूएई दोस्रो र ५ अंक रहेको हङकङ तेस्रो स्थानमा रहेको छ ।  आइतबारको खेल वर्षाले पूरा हुन नदिएपछि ओमान र हङकङलाई १–१ अंक बाँडिएको हो ।

२ अंक रहेको मलेसिया र अंकविहीन सिंगापुरले फाइलन प्रवेशको सम्भावना गुमाइसकेको छन् ।

मंगलबार नेपालले हङकङको सामाना गर्दै छ । अर्काे खेलमा शीर्ष दुईमा रहेका ओमान–यूएई र पुच्छारमा रहेका मलेसिया–सिंगापुर भिड्दैछन् । मलेसिया र सिंगापुरबीचको नतिजाले नेपाललाई कुनै असर गर्दैन

एसिया कपमा छनोटका लागि नेपालले हङकङलाई हराउनु अनिवार्य नै छ । ओमान र यूएई बीचको खेलमा ६ अंक रहेको यूएईले जिते स्वत नेपालको सम्भावना सकिन्छ । यसो भएमा ओमानको ७ अंक छँदैछ, यूएईको ८ अंक हुनेछ । नेपालले हङकङलाई हराए पनि ६ अंक मात्रै हुनेछ ।

नेपालको सम्भावनाका लागि ओमानले यूएईलाई हराउँनै पर्छ । नेपालको भन्दा यूएईको रनरेट बढी भएकाले ओमानले यूएईलाई सकेसम्म ठूलो अन्तरले पराजित गर्नु नेपालका लागि फाइदा हुन्छ । यदि नेपालले हङकङमाथि झिनो अन्तरको जित निकाल्ने र ओमानले पनि थोरै अन्तरले यूएईलाई हराएमा पनि रनरेटका आधारमा यूएई नै अगाडी रहँदै छनोट हुन सक्छ।

मंगलबारको खेलमा नेपाललाई अघि बढ्नका लागि ओमानले युएईलाई र नेपालले हङकङलाई फराकिलो अन्तरले हराउने कामना गर्नुको विकल्प छैन ।  नेपाललाई हङकङले हराएको खण्डमा सिधै छनोट हुने भएकाले  यस हङकङले पूर्ण शक्ति लगाएर खेल्नेछ । हङकङको ब्याटिङ नेपालको तुलनामा निकै राम्रो छ ।

पहिलो खेलमा आयोजक मलेसियासँग ३ विकेटले पराजित भएको हङकङ दोस्रो खेलमा सिंगापुरमाथि ५ विकेटको जित निकालेको थियो । तेस्रो खेल यूएईविरुद्ध खेलेको हङकङले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन ग¥यो । पहिले ब्याटिङ गरी २७५ रन बनाएको हङकङले यूएईलाई ९३ रनमै अलआउट गराई १८२ रनको फराकिलो जित निकाल्यो।

आइतबार ओमानलाई पनि ५० ओभरमा १८३ रनमै रोक्यो । जवाफी ब्याटिङका क्रममा ५ ओभरमा बिना विकेटको क्षति २५ रन बनाउँदा वर्षाले खेल रोकिएर अंक बाँडेको थियो । यस खेलमा पनि हङकङ हाबी देखिन्थ्यो ।

नेपालले पछिल्ला दुई खेलमा जित निकाले पनि ब्याटिङको पुरानो समस्या कायमै देखिन्छ । हङकङमाथि जित निकाल्नु निकै चुनौती भएपनि नेपाली खेलाडीले पूर्ण क्षमताले खेल्ने र हङकङमाथि जित निकाल्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया