काठमाडौं। ठगी गरेको आरोपमा वैदेशिक रोगजार विभागले २ सय ५८ मेनपावर कम्पनीको कारोबार रोक्का गरेको छ। रोक्का गरिएका मेनपावर कम्पनी मध्ये अधिकांश वैदेशिक रोजगारकोे नाममा सर्वसाधारणलाई ठगी गर्ने, सरकारले तोकेको भन्दा चर्को रकम असुल गर्ने, नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने वैदेशिक रोजगारलाई अर्मयादित बनाउने, गैह्रकानुनी काम गर्नेलगायतको आरोप लागेको छ।
विभागले मेनपावर कम्पनीलाई पीडितले दिएको उजुरी र प्रमाणका आधारमा कारोबार रोक्का गर्दै आएको हो। विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले मेनपावर कम्पनीहरुले नियम विपरित कारोवार गर्ने सर्वसाधारणलाई ठगी गर्ने गरेको र त्यस्ता मेनपावर कम्पनीलाई पीडितको उजुरी र प्रमाणको आधारमा रोक्का गरिँदै आएको बताए।
रिजालले सर्वसाधारण जनतालाई वैदेशिक रोजगारको नाममा समस्यामा नपार्न मेनपावर कम्पनीहरुलाई सुझाव समेत दिएका छन्। कारोबार रोक्का भएका मेनपावर मध्ये १ सय ९७ वटा मेनपावर कम्पनी बन्दको सूचिमा र ६१ वटा मेनपावर कम्पनी निष्क्रिय मेनपावर कम्पनीको सूचिमा छन्।
बन्दको सूचिमा रहेका मेनपावर कम्पनी मध्ये एवान ओभर्सिस् प्राइभेट लिमिटेड, आकाश ओभर्सिस् प्रालि, आशिष ओभर्सिस् प्रालि, एब्बा इन्टरनेशनल मेनपावर सर्भिसेस् प्रालि, एर्वोड रिक्वाएरिमेन्ट कम्पनी प्रालि, एल सौगात ओभर्सिस् प्रालि, एलिएन्स ओभर्सिस् प्रालि, अलिड ओभर्सिस् प्रालि, अम्बर इन्टरनेशनल प्रालि, अन्नपूर्ण गोरखा सर्भिसेस् प्रालि लगायत हालसम्म कारोबार बन्दको सूचिमा १ सय ९७ वटा मेनपावर कम्पनी रहेका छन्।
त्यसैगरी विभागले हालसम्म ६१ वटा मेनपावर कम्पनीलाई निष्क्रिय मेनपावर कम्पनीको सूचिमा राखेको छ। निष्क्रिय मेनपावर कम्पनीको सूचिमा रहेका मेनपावर कम्पनीहरुमा एएमबी ह्युमेन रिर्सोसेस्, एभिआर नेपाल प्रालि, एड्भान्स ह्युमेन रिर्सोसेस् प्रालि, एलहेरा ओभर्सिस प्रालि, बोल्ड मेनपावर प्रालि, डिलक्स इन्टरनेशनल ओभर्सिस् प्रालि, डायनमिक ग्लोबल प्रालि, टोकियो ओर्भसिस् प्रालि लगाएत ६१ वटा मेनपावर कम्पनी रहेका छन्।
विभागको ब्लक लिस्टमा १ सय ९७ र इनअ्याक्टिभ लिस्टमा ६१ गरी जम्मा २ सय ५८ मेनपावर कम्पनीको कारोबार रोक्का गरिएको छ । विभागको तथ्यांकमा हालसम्म कारोबार बन्द भएर पनि सक्रिया गरिएका मेनपावर कम्पनीहरु १ हजार १ सय वटा रहेका छन्।
निष्क्रिय बाट सक्रियको लिस्टमा मेनपावर कम्पनीको संख्या थपघट भइरहन सक्ने विभागले जनाएको छ। विभागले रोक्का भएका मेनपावर कम्पनीहरुलाई अबदेखि कुनै पनि अर्मयादित कारोबार नगर्ने र कम्पनीले गरेको ठगीको क्षतिपूर्ति मेनपावर कम्पनीले बेहोरी सकेपछि मात्र उनीहरुको रोक्का कारोबारलाई फुकुवा गर्दै आएको छ।