पुल–इ–खुम्री, अफगानिस्स्तान। अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन्।
यस कारबाहीमा अन्य आठ आतङ्ककारी घाइते भएका सो क्षेत्रका सेनाका प्रवक्ता मोहमद हनीफ रेजाइले बिहीबार जानकारी दिएका छन्।
अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धन सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै प्रायः सेना त्यहाँबाट आ– आफनो देश फर्किएका थिए।
त्यहाँ बाँकी करिब १२ हजार संयुक्त गठबन्धनका सेनाले पनि अफगान सेनालाई सल्लाह र तालिम दिने तर युद्धभूमि गएर तालिबान र अन्य आतङ्ककारी समूहसँग युद्ध नगर्ने घोषणा गरेका थिए।
सो घोषणापछि सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सैनिकको काँधमा आएको थियो।
यद्यपी त्यसपछि अफगान सुरक्षा अधिकारीहरुको हताहतमा बृद्धि भए तापनि तालिबान र इस्लामिक स्टेटस् आतङ्ककारी समूहमाथि हुँदै आएको कारबाहीमा यहाँ सुरक्षा अधिकारीहरुले सफलता नै प्राप्त गरेका छन्। (रासस /एपी)