काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
दुई दिने शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु काठमाडौं आउने क्रम जारी छ । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहीबार विहान काठमाडौं उत्रिएका छन् ।
उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमै स्वागत गरे । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।
मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरे ।
आज नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि आइपुग्ने छन् ।
यसअघि हिजो श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानका प्रधानन्यायाधीश एवं अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक आइसकेका छन् । म्यानमारका राष्ट्रपति विन मिन्ट भने मंगलबार नै काठमाडौं आइसकेका छन् ।
बिमस्टेकको शिखर सम्मेलन अपराह्न काठमाडौंमा सुरु हुने छ । सम्मेलनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्न व्यापार, उर्जा, यातायातलगायतका विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गर्ने भएको छ ।
सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा उर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायतका विषयमा कनेक्टिभिटी बनाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ ।