लन्डन – गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले प्रवासमा अलपत्र परेका नेपालीहरुलाई चांडो भन्दा चांडो उद्धार गरेर स्वदेश फिर्ता लग्न आग्रह गरेका छन् ।
प्रवासबाट फर्किने व्यक्तिहरुको सीप र ज्ञान प्रयोग गरेर उद्यमसिलताको विकास गर्न पनि उनले अनुरोध गरेका छन् ।
नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक सतीश चापागाईंसंग लाइभ कुरा गर्दै आचार्यले खाडी मुलुक, मलेसिया लगायतबाट नेपाल फर्कने नेपालीहरुलाई क्वारेंटाइनमा राख्न सघाउन नेपाल सरकारले स्वयंसेवकहरुलाई आह्वान गर्नु पर्ने बताए । “नेपालका होटेलहरु, विद्यालय, कलेज तथा आवश्यक परे आफ्ना घर उपलब्ध गराउन पनि गाउँलेहरु तयार हुनुहुन्छ । नेपालमा क्वारेंटाइनको व्यवस्था गर्न अत्यन्त सहज छ। त्यसैले स्वदेश फर्कन पर्खिरहेका नेपालीहरुलाई तत्काल विशेष उडानहरुको प्रबन्ध गरी स्वदेश फर्कने व्यवस्था मिलाई दिन म फेरी पनि नेपाल सरकारलाई आग्रह गर्दछु” आचार्यले भने ।
अहिले कोरोना संकटका कारण पांच देखि दस लाखसम्म नेपालीहरु खाडी मुलुकहरु, मलेसिया र भारतबाट नेपाल फर्कने अनुमान गरिएको छ । यसबाट उहाँहरुले नेपाल पठाउदै गरेको रकम, रेमिटान्स, घट्ने छ भने नेपाल फर्के पछि उहांहरुले बेरोजगारीको चरम समस्या व्यहोर्नु पर्ने देखिन्छ । यसले गर्दा सम्बन्धित परिवार र समुदायमा मात्रै हैन राजनीटिक संकट पनि निम्तन सक्ने अनुमान गर्न लागिएको छ। विदेशमा काम गरेर फर्केका नेपालीहरुले आफुसंग सीप, अनुभव र आत्मविश्वास पनि लिएर फर्केका हुन्छन्। कतिपयले केहि पूंजी पनि लिएर फर्कनु होला। उहाँहरुलाई आफ्नो, गाउँठाउँमा रोजगारीका अवसरहरु जुटाउन सघाउन नेपाल सरकार, नेपालको निजी क्षेत्र र गैर आवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बेला आएको छ, आचार्यले भने ।
“पांच देखि दसलाख नेपालीहरु स्वदेश फर्के पनि अरु चालिस, ५० लाख नेपालीहरु विदेशमै हुने छौं । हामीले केही न केही व्यापार व्यवसाय गरिनै रहेका हुने छौं । त्यसैले हामीले सामूहिक लगानीको अवधारणाका साथै एनआरएन माइक्रो फाइनान्स मार्फत पनि फर्केका नेपालीहरुका लागि रोजगारीको सुनिस्चितता गर्न आवश्यक भै सकेको छ । म यसबारे थप छलफल र बहस गर्न सबै साथी हरुलाई आह्वान गर्द छु” आचार्यले भने ।
इजरायलबाट फर्किएका साथीहरुले उन्नत कृषि गरेर आफ्नो आय आर्जन मात्रै गरिरहनु भएको छैन, उहाँहरुले अरुलाइ पनि रोजगारी दिइ रहनु भएको छ। जडीबुटी, चिया तथा कफी खेतीमा पनि ठूलो सम्भावना छ, तिनको बजारीकरणमा एनआरएनएले ठोस योजना बनाएर अगाडी बढ्ने बेला आएको छ । त्यस्तै साना तथा मझौला उद्यम तथा व्यवसाय हरुमा लाखौं नेपालीहरुलाइ संलग्न गराउन सकिन्छ । साथै उहांहरुलाई तालिम, पूंजी र बजारको व्यवस्था मिलाउनु पर्ने हुन्छ । त्यसको लागि पनि नेपाल सरकार, नेपालको निजि क्षेत्र र एनआरएनएले सहकार्य गर्नु पर्दछ, उनले भने।
आचार्यले प्रवासबाट फर्किए नेपालीहरुको सीपको सदुपयोग गरेर स्वदेशमै रोजगारी बढाउने कामना नलागे मुलुकमा ठूलो आर्थिक संकट आउन सक्ने चिन्ता पनि व्यक्त गरे ।