इलाम । कोभिड १९ का कारण देश लकडाउनमा गएको धेरै लामो समय भए पछि व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् ।
मारमा परेको व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै इलामका नेपाली काँंग्रेसका नेता तथा पूर्वराज्यमन्त्री वेनुपराज प्रसाईले लकडाउन अवधिभरको घरभाडा छुट गर्ने घोषणा गर्नु भएको छ ।
उहाँको घरमा इलामकै चर्चित रेडरोजर फुलगाँछी होमस्टे सञ्चालित छ । प्रसाईले मासिक एक लाख भन्दा वढी भाडा उठाउँदै आउनु भएको छ ।
केहि दिन अघि न्यूज २४ टेलिभिजनमा इलामका पर्यटन तथा होटल व्यवसायीहरुले कारोना भाइरसले पारेको असरको कारण व्यवसाय त्याग गर्नु पर्ने अवस्था सिर्जना भएको गुनासो पोखेका थिए ।
लकडाउनका कारण इलाममा सञ्चालित सयौँ यस्ता व्यवसायहरु अहिले धरापमा परेका छन् । प्रसाईले भाडा छुट दिने जानकारी गराउँदै व्यवसायनै नचलेपछि कसरी भाडा बुझाउछन् भन्ने प्रश्नले आफुलाई बिझाएको बताउनुभयो ।
उनीहरुको कमाई नभए पछि कहाँबाट बुझाउन सकुन भन्दै उहाँले यही अवस्था बुझेर आफुले घर भाडा छुट गरेको न्यूज २४ लाई बताउनुभयो । नेता प्रसाईले राज्यलाई पनि व्यवसायीको लागि सोच्न आग्रह गर्नुभयो ।
इलामा सञ्चालित अधिकांश पर्यटनसंग जोडिएका व्यवसाय अहिले धरापमा परेका छन् । नगरपालिकाले भने आफ्नो व्यवसायिक सटरहरुमा २० प्रतिशत भाडा मात्र छुट दिएर झारो टार्ने मेलो गरेको स्थानीय व्यवसायीहरुको आरोप छ ।
इलाम नगरपालिकाको स्वामित्वमा रहेका भिन्न सटर तथा पर्यटकीय स्थलहरुमा नगरपालिकाले भाडा उठाउँदै आएको छ ।