२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

मन्‍त्रिपरिषद् बैठक साँझ ५ बजे

936 Shares

काठमाडौं : लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार साँझ मन्‍त्रिपरिषद्‌को बैठक बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण साँझ ५ बजेलाई सारिएको छ।

‘यसअघि २ बजे बस्ने भनिएको बैठक ५ बजेका लागि सरेको सूचना आएको छ’, एक मन्त्रीले भने।  बैठकमो एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल हुनेछ।

सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन सोमबार अर्थात् वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्‍न सुझाव दिइसकेको छ। स्वास्थ्य मन्‍त्रालयलेसमेत एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो।

लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञले समितिलाई दिएका छन्।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्‍ने निष्कर्षमा उच्चस्तरीय समिति पुगेको छ।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि संक्रमितको संख्या ५१ पुगेको छ। १२ जना भने निको भएका छन्। अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

प्रतिक्रिया