काठमाडौं। सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने अनिवार्य व्यवस्था गर्न लागिएको जानकारी दिए।
बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई सिप सिक्न सरकारले आवश्यक संरचना निर्माणको कामलाई तीव्रता दिएको जनाए।
मन्त्री विष्टले सरकारले वैदेशिक रोजगारलाई प्रवद्र्धन नगर्ने नीति लिएको उल्लेख गरे। उनले बाध्यकारी अवस्था रहँदासम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई संशोधन गरी वैदेशिक रोजगार व्यवस्थापन बोर्ड स्थापना गर्ने कामलाई अघि बढाइएको पनि समितिलाई जानकारी दिए।
सरकारले स्वदेश भित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई पहिलो प्राथमिकता दिएको मन्त्री विष्टको भनाइ छ।
नेपालले १ सय १० वटा मुलुकलाई वैदेशिक रोजगारीमा जान खुला गरेको छ।
मन्त्री विष्टले ती देशहरुमा नेपाली कामदारको सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले उनीहरुलाई अनिवार्य सीप सिक्ने व्यवस्था गर्न लागिएको बताए। वैदेशिक रोजगारीमा गएकाहरु मध्ये १ दशमलव ५ प्रतिशतमात्रै दक्ष कामदार रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।