२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

हजुरआमा–नातिनीको भाइरल तस्वीरको कहानी

4012 Shares
Spread the love

बीबीसी। भनिन्छ, एक तस्वीरले हजार भन्दा धेरै शब्दको वयान गर्छ। एक यस्तै तस्वीर यतिबेला सामाजिक संजलामा भाइरल भएको छ। यो तस्वीर शेयर गरेका मानिसले लेखेको कुरा पनि भाइरल भएको छ।

पोस्ट गरिएको उक्त तस्वीरसँग लेखिएको छ, ‘एक स्कुलले आफ्नो स्कुलमा पढ्ने बालबालिकालाई विद्धाश्रममा टूर लैजाने भयो। र यी छात्राले आफ्नी हजुरआमालाई त्यही विद्धाश्रममा देखिन्।’

‘जब ति बालिकाले आफ्ना आमा बुवासँग आफ्नी हजुरआमाका विषयमा सोधिन्, उनलाई भनियो हजुर आमा नातेदारकोमा जानु भएको छ।  कस्तो समाज बनाइरहेका छौं हामी।’

हेर्दा हेर्दै यो तस्वीर र तस्वीरसँगै लेखिएको स्टाटस भाइरल भयो। यो तस्वीर आम नागरिकसँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र क्रिकेटर हरभजन सिंहजस्ता चर्चित व्यक्तिले आफ्नो फेसबुक र ट्विटरमा शेयर गरेका छन्। तर के यो तस्वीर र तस्वीरसँगै लेखिएको स्टाटस सत्य हो?  यी सबै सवालको जवाफ बीबीसीले खोजेको छ।

 

के हो सत्य?

वास्तवमा यो तस्वीर अहिलेको नभएर ११ वर्ष पुरानो २००७ को हो। ठाउँको नाम हो  अहमदावादको घोडासरमा रहेको वृद्धाश्रम।
बीबीसीले यो तस्वीरमा देखिएका हजुरआमा दमयंती र नातिनी भक्तिसँग अहमदावादको त्यही आश्रममा गएर कुराकानी गरेको छ।

भक्तिले बीबीसी सम्वाददाता तेजससँगको कुराकानीमा भनिन्, ‘म के भन्न चाहन्छु भने मेरी हजुरआमा आफ्नो खुशीले वृद्धाश्रममा बस्दै आउनु भएको छ। र उहाँलाई यहाँ कसैले पनि पठाएको होइन। मलाइ थाहा थिएन उहाँ कहा हुनुहुन्थ्यो। तर के थाहा थियो भने उहाँ जाँदै हुनुहुन्छ। तर कुन वृद्धाश्रममा हुनुहुन्थ्यो त्यो थाहा थिएन।’

भक्तिले ११ वर्ष अगाडिको घटना सम्झिँदै भनिन्, ‘म निकै भावुक थिएँ र रुन थालेँ।  हजुरआमाप्रति मेरो धेरै लगाव थियो। म आमा बुवालाई भन्दा धेरै हजुरआमालाई माया गर्थेँ।’

सामाजिक संजालमा कयौं मानिसले हजुरआमालाई किन घर लैजान नसकेको भनेर प्रश्न गरेको भन्ने प्रश्नमा उनले भनिन्, ‘अब घर लैजानुको कुनै अर्थ छैन। वृद्धाश्रममा बस्न उहाँलाई राम्रो लाग्छ। अहिले त यहाँ उहाँको परिवारजस्तो पो भएको छ। यहाँ उहाँ निकै खुशी हुनुहुन्छ। हामी दैनिक जसो कुराकानी गर्छौं। मेरा आमा बुवाको घरमा पनि जानुहुन्छ। मानिसहरु मेरो बुवाका विषयमा लगत अनुमान लगाइरहेका छन् तर त्यस्तो होइन। यदि त्यस्तो हुन्थ्यो भने म उहाँसँग सम्बन्ध नै राख्दिन थिएँ।’

मलाइ थाहा थिएन उहाँ अचानक भेटिनुहुन्छ

 

१२ सेक्टेम्बर, २००७ लाई सम्झिँदै भक्तिले भनिन्, ‘म स्कुलबाट आएकी थिएँ। ग्र्याण्डप्यारेन्ट्स डे थियो। मलाइ थाहा थिएन उहाँ अचानक भेटिनुहुन्छ। उहाँ जाँदै हुनुहुन्छ भन्ने थाहा थियो। तर उहाँ कहा भेटिनुहुन्छ भन्ने थाहा थिएन। हजुृरआमा पनि चाहनुहुन्न थियो हामीलाई उहाँ वृद्धाश्रममा बसेको थाहा होस्। तर अचानक भेट भयो। हामी दुवै भावुक थियौं र रुना थाल्यौं।’

११ वर्षपछि उक्त फोटो भाइरल भएको विषयमा भक्ति भन्छिन्, ‘संवेदना धेरै राम्रो हो। तर मेरा अभिभावकालागि जे कुरा लेखिएको छ, त्यो राम्रो भएन। कयौं हजुरआमाहरु यस्ता पनि हुनुहुन्छ, जो आफ्नो खुशीले वृद्धाश्रममा बस्दै आउनु भएको छ। ती मध्ये मेरी हजुरआमा पनि एक हुनुहुन्छ।’
हजुर आमा दमयंती बेनको भनाइ पनि यस्तै छ। उनले भनिन्, ‘म आफ्नो खुशीले यहाँ बस्दैछु। हामीबीच कुनै असमझदारी छैन। उनीहरुले मलाइ घरबाट निकाल्न खोजेको होइन। म शान्तिसँग बस्छ चाहन्थे त्यही भएर यहाँ आएकी हुँ।’

‘म घर जान्छु। घरमा मान्छे पनि यहाँ आउँछन्। भगवानको नाम लिन्छु। शान्तिसँग यहाँ बसेकी छु। अन्य कुनै कारण छैन। मेरो छोरा दैनिक मसँग कुरा गर्छ। स्वास्थ्य अवस्था सोध्छ। बुहारी पनि राम्री छन्। खाजा लिएर आउँछिन्। हामीसँगै बस्दा जुन प्रकारको लगाव थियो अहिले पनि त्यही लगाव छ।’

 

 

यो तस्वीर खिच्ने कल्पित भचेचका अनुसार यो तस्वीर भाइरल हुनुको मुख्य कारण समाजिक संजाल हो। तर त्यो दिन त्यस्तो के भएको थियो र यो तस्वीर खिचियो। फोटो खिच्ने कल्पित स्वयं गुजरातका वरिष्ठ फोटोपत्रकार  कल्पित भचेच के भन्छन्? उनकै शब्दमा :
पत्रकारितमा कस्ता कस्ता संयोग हुन्छन् यो कहानी पनि यसैका बारेमा छ।

त्यो दिन १२ सेक्टेम्बर, २००७ थियो। मेरो जन्म दिनभन्दा एक दिन अगाडि। म विहान नौ बजे घरबाट निस्किएको थिएँ। त्यो दिन मेरी श्रीमतीले भनेकी थिइन्–साँझ बेलैमा घर आउनु किनभने भोलि तपाइँको जन्म दिन हो र राति १२ बजे केक काट्नुपर्छ।’

निकै खुशी भएर घरबाट निस्किएको थिएँ। केही समयपछि मेरो मोबाइलमा अहमदाबादको मणिनगरको जीएनसी स्कुलबाट फोन आयो। स्कुलकी प्रिन्सिपल रीटा बहन पंड्याले फोन गरेकी थिइन्। उनले स्कुलका विद्यार्थीहरु वृद्धाश्रम लैजाने कार्यक्रम रहेको र मलाइ पनि भ्रमणको फोटो कभर गर्न बोलाइन्।

 

 

म तयार भएँ र त्यहाँबाट घोडासरको मणिपाल गान्धी वृद्धाश्रम पुगेँ। त्यहाँ एकतर्फ स्कुलका बालबालिका बसेका थिए र अर्कोतर्फ वृद्ध मानिस बसेका थिए।  मैले के आग्रह गरेँ भने बालबालिका र वृद्धलाई एकै ठाउँमा राखौं ताकी म राम्रो फोटो खिच्न सकौं।

जसै बालबालिका उभिए, एक स्कुले बालिका यहाँ उपस्थित एक वृद्ध महिलातर्फ हेर्दै डाको छोडेर रुन थालिन्।  नजिकै बसेकी ती वृद्धा पनि ती बालिकालाई हेरेर रुन थालिन्। अनि ती बालिका दौडिँदै ती वृद्ध महिलालाई अंकमाल गरिन्। त्यहाँ उपस्थित सबै मानिस हेरेको हेर्यै भए।
मैले त्यो फोटो आफ्नो क्यामरामा कैद गरेँ र मैले ती वृद्ध महिलालाई सोधेँ। उनले आफूहरु हजुरआमा नातिनी भएको बताइन्।

ती बालिकाले पनि रुँदै उनी आफ्नो हजुर आमा भएको बताइन्। ती बालिकाले हजुरआमा बिना आफ्नो जीवन निकै निरस भएको बताइन्।
बालिकाले के पनि भनिन् भने उनका बुवाले उनलाई हजुरआमा नातेदारकोमा जानु भएको छ। तर जब बालिका बृद्धाश्रममा पुगिन् तब थाहा भयो हजुरआमा कहाँ गएकी थिइन्। हजुरआमा र नातिनीको मिलन देखेर त्यहाँ उपस्थिति सबै उभिएर ताली बजाए र सबैका आँखा रसाए। त्यसपछि माहोललाई सामान्य बनाउन केही बच्चाले भजन गाउन सुरु गरे।

यो फोटो भोलिपल्ट दिव्य  भास्कार पत्रिकाको पहिलो पेजमा छापिएको थियो। र त्यो बेला यो फोटोको पूरै गुजरातमा चर्चा सुरु भएको थियो। यो फोटोले धेरै मानिसलाई अचम्ममा पारेको थियो।

मेरो तीस वर्षको करियरमा पहिलो पटक मेरो फोटो पत्रिकामा छापिएपछि हजारभन्दा धेरै फोन आयो। त्यो बेला पूरै राज्यमा यो फोटोको चर्चा भएको थियो। तर जब भोलिपल्ट म अन्य मिडियाकर्मीसँग ती वृद्ध महिलाको अन्तर्वाता गर्न पुगेँ तब उनले भनिन् –म आफ्नो इच्छाले यहाँ बसिरहेकी छु।’

प्रतिक्रिया