चितवन। कोरोना पोजिटिभ देखिएका आमा छोरा नै बेलायतबाट आएको खुलेको छ । पुर्वि चितनवको राप्ती नगरपालिका वडा नम्बर ८का ६३ बर्षीया महिला र २७ बर्षीय पुरुष बेलायतबाट हङ्कङ हुँदै चैत ३ गते कतार एयरवेजमार्फत नेपाल आएका थिए । दुई दिन काठमाडौं बसेर उनीहरु चैत्र पाँच गते चितवन आएको बताइएको छ । बेलायतमा रहेका आफ्नो परिवार भेटेर बेलायतबाट फर्किएको बुझिएको छ ।
उनीहरुमा संक्रमण पुष्टि भएपछि प्रहरी परिचालन गरेर गाउँमा सम्पर्कमा आएका व्यक्तिहरुको विवरण संकलन गर्न थालिएको छ । उनीहरुको परिवार ठूलो भएकोले सबैको संख्या एकिन गर्न थालिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिईन् ।
बरालका अनुसार उनिहरु विदेशबाट आएपछि होम क्वारेन्टाईनमा बसेका थिए । तर, समय अवधि पुगेपछि बाहिर निस्केको हुन सक्ने बताईन् । अहिले परिवारहरुलाई होम क्वारेन्टिनमा बस्न भनिएको र भोलि छुट्टै व्यवस्थापन गरिने उनले बताईन । अहिले स्थानीयहरु पनि त्रसिद रहेका छन् ।
यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको विहिबार राती कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । काठमाण्डौँमा पनि पोजिटिभ आएपछि बल्ल भरतपुर अस्पतालले आधिकारीक रुपमा कोरोना पुष्टि गरेको थियो । उनिहरुको उपचार अहिले भरतपुर अस्पतालको आईसोलसनमा भईरहेको छ । उनिहरुलाई लक्षण भने केही देखिएको छैन । उनीहरुलाई दुई वटा आईसुलेसनमा राखिएको छ ।
र्यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।