२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कोरोनाको उपचार पछि घर फर्किए सांसद शर्मा

1149 Shares
Spread the love

लन्डन, मार्च ३१ (जीएनएन) — ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमण पछि उपचार गराइ घर फर्केका छन् ।
हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता कोरोन भाइरसका सामान्य संकेत देखिए पछि आफुलाई हिलिंग्डन अस्पतालमा भर्ना गरिएको र जांच पछि आफुमा सो भाइरस रहेको पाइएको बताए।


एक ट्वीट गर्दै ७२ वर्षीय सांसद शर्माले अहिले आफु संक्रमणबाट मुक्त भएको जनाएका छन् । उनले आफ्नो उपचारमा संलग्न हिलिंग्डन अस्पतालका चिकित्सक, नर्स लगायत एनएचएसलाई हार्दिक धन्यवाद दिएका छन् ।


सांसद शर्माले सबै ब्रिटिश नागरिकहरुलाई घर भित्रै बस्न र भाइरसबाट जोगिन सल्लाह पनि दिएका छन् ।


यसैबीच एनआरएनएका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले शर्माको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । एक संदेशमा उनले भने, “नेपाल र नेपालीका शुभचिन्तक एवम् हितैषी, इलिङ्ग साउथहल निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्नु हुने ब्रिटिश सांसद वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणलाई जितेर उपचार पछि घर फर्कनु भएको तथा घरमै आराम गरिरहनु भएको खबर सुनेर साह्रै खुसी लागेको छ। म सांसद शर्माको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।“


सन् २००७ मा पहिलो पटक ब्रिटिश संसदको तल्लो सदन, हाउस अफ कमन्स, मा निर्वाचित सांसद शर्मा त्यस यता लगातार पांच पटक निर्वाचित भैसकेका छन् ।
उनी अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया