२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

कालिमाटी तरकारी बजारमा अनुगमन, ठगि गर्नेलाई कारबाही गरिने

1229 Shares
Spread the love

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीकै मिलेमतोमा उपभोक्तामाथि ठगी हुने गरेको भन्दै छानबिन गर्ने भएको छ ।

सोमबार बिहान अनुगमनका लागि पुगेका उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई सहयोग नगरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई ठग्ने काम समितिका जिम्मेवार पदाधिकारीबाटै हुने गरेको भन्दै छानवीन गरी उनीहरुलाई कारबाही गर्न मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई निर्देशन दिएका छन् ।

व्यापारी र सरकारी अनुगमन टोलीबीच विवाद भएपछि तरकारी बजारमा पुगेका मन्त्री यादवले समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई तरकारी बजार अनुगमनको काम नगरेको भन्दै आक्रोस पोखे । उनले बजार समितिका पदाधिकारी बिचौलियासँग मिलेर उपभोक्ता मारमा पार्ने काम गरेको भन्दै कार्यकारी निर्देशक पौडेललाई विलविजक बिना जथाभावी तरकारी आयात गर्नुले प्रश्न उब्जिएको बताए ।

बजार अनुगमनमा भएको अवरोधबारे उनले जानकारी लिएका थिए । बिहान तरकारी अनुगमनको लागि पुगेको सरकारी टोलीलाई बिचौलिया र ब्यापारीहरुले बजार विकास समितिको भवनमा थुनेका थिए । त्यसलगत्तै प्रहरी परिचालन गरेपछि मात्र व्यापारीले अनुगमन टोलीलाई बाहिर निस्कन दिएका थिए ।

अनुगमनको क्रममा बिल विजक नभएका दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको छ । अनुगमनकर्तालाई धम्की दिने दुई जना व्यापारीलाई नियन्त्रणमा लिएर कारबाहीका थालिएको छ । अनुगमन टोलीलाई धम्क्याउने र विचौलियाको नेतृत्व गर्ने कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहित २ जना पक्राउ परेका हुन् ।

उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भेटिएपछि सरकारले तरकारी बजारलाई कडा निगरानीमा राखेको छ । मन्त्री यादवले बिलविजक विनाको कुनै पनि सामान बजारभित्र प्रवेशमा गर्न नदिन बजार विकास समितिलाई सचेत गराए । उपभोक्तामाथि ठगी गर्नेहरुलाई सरकारले नियन्त्रणमा लिएर कडा कार्वाही गर्ने मन्त्री यादवले चेतावनी दिए ।

प्रतिक्रिया