वाशिङटन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको जोखिम अमेरिका पनि फैलिने ‘निश्चित’ भएको अधिकारीहरुले चेतावनी दिएकी छन् ।
अमेरिकाको रोग नियन्त्रण र उपचार केन्द्र (सीडीसी)का एक उच्च अधिकारीहले मंगलबार हजारौंको ज्यान लिएको कोभिड-१९ नोभेल कोरोना भाइरस फैलिनबाट जोगिने बारेमा स्वास्थ्य विज्ञहरुले तयारी गर्नुपर्ने चेतावनी दिएकी हुन् ।
“कोरोना भाइरस हाम्रो मुलुकमा पनि फैलिनेछ भन्ने निश्चित छ,” सीडीसीको खोप र श्वास्प्रश्वास रोग राष्ट्रिय केन्द्रका निर्देशक डा. न्यान्सी मेसोनाइरले भनिन्,”अमेरिकामा पनि कोरोना भाइरस फैलिन्छ र भन्ने प्रश्न रहेन, अब त कहिले फैलिन्छ र यसले कति मानिस संक्रमित हुन्छन् भन्ने प्रश्न रह्यो ।”
सीडीसीले मंगलबार ट्विट गर्दै अमेरिकाले कोरोनाविरुद्ध लड्न तयार रहनुपर्ने जनाएको छ । “अब अमेरिकी व्यापार, अस्पताल र समुदायले कोभिड-१९ को संक्रमणबाट कसरी बच्ने भन्ने तयारी थाल्नुपर्ने समय आएको छ,” ट्विटमा भनिएको छ ।
अमेरिकामा अहिलेसम्म ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीले अमेरिकी कंग्रेससँग तत्काल अर्बौँ डलर बराबरको बजेट कोरोना भाइरस संक्रमणविरुद्धको अभियानका लागि छुट्याउन आग्रह गरेको छ ।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा कोरोना भाइरस संक्रमणको अवस्था ‘निश्चित रुपले नियन्त्रण’ मा रहेको बताएका छन् । र पनि कोरोना भाइरसको संक्रमणको डरका कारण अमेरिकी स्टक मार्केट लगातार घटिरहेको छ ।
कोरोना भाइरसका कारण विश्वभर २७ सयभन्दा बढीको मृत्यु भएको छ भने ८० हजारभन्दा बढी संक्रमित बनेका छन् । – सीएनएन