काठमाडौं : कालीमाटी तरकारी बजारमा अनुगमनका लागि पुगेको सरकारी टोलीलाई बिचौलिया र व्यापारीहरूले नियन्त्रणमा लिएका छन्।
सोमबार बिहान ३ बजे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोली तरकारीको मूल्यको विषयमा अनुगमन गर्न कालीमाटी बजार पुगेका थिए।
अनुगमनको क्रममा धादिङ र काभ्रेबाट बोडी, काउली, फर्सीलगायतका तरकारी बोकेर आएको ट्रकसँग तरकारीको बिल माग्दा अनुगमन टोली र ब्यापारीबीच वादविवाद भएको थियो।
अनुगमन टोलीले सुरक्षाकर्मीको सहयोगमा उक्त दुई थान सवारी साधन नियन्त्रणमा लिएपछि बिचौलिया र व्यापारीको समूहले अनुगमन टोलीलाई अवरोध सिर्जना गरी केही बेरसम्म नियन्त्रणमा लिएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले जानकारी दिए।
सरकारी टोलीले दुई ट्रकमध्ये ना ४ च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएको छ भने अर्को बा ६ च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका छन्।
अवस्था तनावपूर्ण भएपछि अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा व्यापक रुपमा सुरक्षाकर्मीको परिचालन गरेको छ।
अनुगमन टोलीलाई ब्यापारी, मुन्द्रे, कुण्डलेलगायतका समूहले विकास समितिको भवनमै केही बेरसम्म नियन्त्रणमा राखेर बाहिर निस्कन अवरोध सिर्जना गरेका थिए।
तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने र उपभोक्तालाई सुलभ मूल्यमा तरकारी उपलब्ध गराउने उद्देश्यका साथ अनुगमन टोलीले अनुगमन गरेको थियो।
अहिले व्यापारी र अनुगमन टोलीबीच वार्ता भइरहेको छ।