२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

‘मकालु’को पहिलो उडान बैंकक, तिहारपछि कोरिया, जापान र रियाद

959 Shares
Spread the love

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ।नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र ९एओसी० पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो। मकालुले आउँदो सातादेखि बैंककबाट उडान शुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। शनिबारसम्म परीक्षण उडान ‘प्रुभिङ फ्लाइट’ गरी उडान शुरु गर्ने योजना सुनाउँदै उनले थपे, “मकालु विमानको उडानका लागि आवश्यक प्रक्रिया पूरा भयो, हिजो एओसी पनि पाएका छौँ, सोमबार या मङ्गलबारदेखि व्यावसायिक उडान शुरु गर्छौैं ।”

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौँ अवतरण गरेको थियो। निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो।

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरेको थियो। पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बेङ्लोर उडान शुरु गरेको निगमका कर्पोरेट विभागका उपनिर्देशक सैलेश कंसाकारले जानकारी दिए। एक साताभित्र नयाँ उडान तालिका आएपछि अन्य गन्तव्यमा अन्नपूर्ण लगिने उनको भनाइ छ। पहिलो वाइड बडीले उडान शुरु गरेयता राम्रै व्यापार गरिरहेको जनाइएको छ।

दोस्रो वाइड बडी विमान उडाउन स्वदेशी तथा विदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन्। महाप्रबन्धक कंसाकारका अनुसार मकालु विमानका लागि तीन विदेशी र छ नेपाली चालक छन्। थप दश विमान खरिद गर्ने योजना बनाएको निगमको इतिहासमा एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो। निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन्। त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ। सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य सफल बनाउन राष्ट्रिय ध्वजावाहक निगमको महत्वपूर्ण भूमिका हुनेछ।

दुवै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो। दुवै वाइड बडी विमानको सिट क्षमता समान छ। कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा साङ्ग्रीला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन्।

निगमका दुवै जहाजलाई पूर्णरूपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ। नयाँ थपिएसँगै निगमसँग १३ विमान छन्। निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ।

निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति छ। नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु–याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ।

तिहारपछि कोरिया, जापान र रियाद

नयाँ वाइड बडी विमानबाट पुरानै गन्तव्यमा उडान भरिरहेको निगमले तिहारलगत्तै दक्षिण कोरिया, जापान, र साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने भएको छ। महाप्रबन्धक कंसाकारले ती गन्तव्यमा जान आवश्यक प्रक्रिया मिलाइएको र बाँकी काम चाँडै सकेर तिहारपछि नियमित उडान गर्ने जानकारी दिए। निगमले हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ।

एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो। निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ। यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन्।

प्रतिक्रिया