१५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमलाई दोरम्बामा सम्बोधान गर्दै प्रचण्ड
रामेछाप: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको रगत र बलिदानीबाट देशमा कम्युनिष्टले बहुमतको सरकार बनाउन सफल भएको बताएका छन् । बिहीरबार १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमलाई दोरम्बामा सम्बोधान गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फाल्ने र देशमा गणतन्त्र ल्याउन सफल भएको बताए । सहिदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र हुँदै पार्टी एकीकरणमा रुपान्तरण भएको दाबी गरे । उनले सहिद परिवारका सदस्यलाई मन दह्रो बनाउनसमेत अनुरोध गरे ।
चर्चित दोरम्बा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभएको उनको दावी थियो । ‘दोरम्बा हत्याकाण्ड तत्कालीन नारायणहिटी दरबारबाट ठाडो निर्देशनपछि भएको हो’, उनले भने, ‘तत्कालीन शाही शासनको समयमा दरबारको निर्देशमा यो हत्याकाण्ड भएकाले शाही नेपाली सेना र सरकारले यसबारे निर्णय गरेका थिएनन् ।’
तत्कालीन सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा चलिरहेको दोश्रो शान्ति वार्ता वार्तालाई बिथोली मान्छे मारेर परिवर्तनलाई रोक्ने सुनियोजित योजनामा दरबारले दोरम्बा हत्याकाण्डको मञ्चन गरेको अध्यक्ष प्रचण्डको भनाई छ ।
१५ वर्षअघि २०६० साल साउन ३२ गते आफ्नो पार्टीका २१ जना नेता कार्यकर्ताको हत्या भएको दोरम्बा हत्याकाण्डलाई पार्टीले विशेष रुपमा हेरेको अध्यक्ष प्रचण्डले बताए ।
तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । त्यस घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।
दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीयस्थल बनाउने घोषणा पनि गरे । काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्बा र दोलखाको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाइ जनताको जीवनस्तर उकास्नका तत्कालै आवश्यक बजेट व्यवस्थापन गर्ने पनि अध्यक्ष दाहालले आश्वासन दिए ।
निर्वाचनको क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा पार्टीले भने अनुसारको विकास निमार्णमा ढिलाइ भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री केपी ओली र आपूmबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
जनताले केही राहात पाउने गरी सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने पनि उनले बताएका छन् । दोरम्बा हत्या काण्डमा तत्कालीन शाही नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रिय मानव अधिकार संस्था एमनेष्टी इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई काराही गर्न सरकारलाई सिफारिससमेत गरेको थियो ।