सरकारले बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी विश्वराज पोखरेललाई भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुखमा वसन्तकुमार लामालाई ल्याएको छ । मन्त्रालयगत निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाले ३८ सय किलोग्राम सून तस्करी अनुसन्धान समितिका सदस्य समेत रहेका लामालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिनुभएको हो ।
यस्तै मन्त्रालयले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रविन्द्रबहादुर धानुकलाई दिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका धानुक, पोखरेल अघि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
ललितपुर प्रमुख गणेशबहादुर ऐरलाई भने सरकारले प्रहरी प्रधान कार्यालय कल्याण शाखामा तानेको छ । सरकारले काठमाडौं र ललितपुरमा सहित बिभिन्न २७ जना एसएसपीको सरुवा गरेको छ । प्रदेश एकमा एसएसपी किशोर कुमार दाहाल, प्रदेश ३ मा तारणीप्रसाद लम्साल, प्रदेश ५ मा नरबहादुर खत्रीलाई नियुक्त गरेको छ ।
३८ सय केजी सून तस्करीमा पूर्पक्षकालागि थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनीलाई सरकारले प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा सरुवा गरेको छ । सरकारले प्रहरी प्रधान कार्यालय मातहत गठन भएका बिभिन्न स्थानमा समेत पदपूर्ती गरेको छ ।
सरकारले प्रहरी नायब महानिरिक्षकहरु महेश बिक्रम शाहलाई कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुरेशबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तालीम निर्देशनालय, सुरज केसीलाई प्रदेश ७ प्रहरी कार्यालय दिपायल र धिरु बस्नेतलाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा गरेको छ ।