२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

विप्लव नेतृत्वको नेपाल बन्द : प्रभाव सामान्य, बम आतंक धेरै

3753 Shares
Spread the love

भक्तपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ भने त्रास बढी छ।

राजधानीका विभिन्न स्थानमा बम फेला परेका छन्। आज बिहान मात्रै सूर्यविनायक र लोकन्थलीमा प्रेसर कुकर बम फेला परेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ। सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो।

त्यस्तै ललितपुरको ग्वार्कोमा  फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ। त्यस्तै नैकापमा पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ। उक्त शंकास्पद बस्तु प्रेसर कुकर बम भएको प्रहरीको आशंका छ।

यसैगरी थसिखेल, बटुकभैरवमा पनि फोहोरको थुप्रोमा भेटिएको शंकास्पद बस्तु पनि नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

त्यस्तै काठमाडौँको गाकर्णेश्वरमा पनि प्रेसर कुकर बम फेला परेको छ। बन्दको समयमा त्रास फैलाउने उद्देश्यले विप्लव समूहका कार्यकर्ताले बम राखेको प्रहरीले जनाएको छ। ठाउँ ठाउँमा सुरक्षा व्यवस्था कडा भएकाले त्रसित नहुन प्रहरीले सबैमा अनुरोध गरेको छ। शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।

बिहानैदेखि काठमाडौँ उपत्यकामा गाडी तथा सवारीसाधन पातलो रुपमा सञ्चालन भएका छन् भने कलेज तथा स्कुलहरु बन्द छन्। बन्दको समयमा हुने अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको छ।  गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो।

प्रतिक्रिया