काठमाडौं। भारतको दिल्लीमा नेपालीसमेत मारिएको चर्चित आरुषी–हेमराज हत्याकाण्डमा नेपाली नागरिक हेमराज बञ्जाडेले न्याय पाउने आशा बलियो भएको छ । इलाहाबाद हाइकोर्टको फैसलामा रोक लगाउँदै भारतको सर्वोच्च अदालतले हत्याको आरोप लागेका आरुषीका मातापिता राजेश तलबार र नुपुर तलबारलाई रिहा गर्ने फैसला रोक्न आदेश दिएको छ । यो घटनामा आरुषी तलवारसँगै अर्घाखाँचीका हेमराज बञ्जाडेसमेत मारिएका थिए । हेमराज यो परिवारमा घरेलु कामदार थिए ।
भारतको सर्वोच्च अदालतले आज आरुषी–हेमराज हत्याकाण्डमा आरुषीका मातापितालाई रिहा गर्ने इलाहाबाद हाइकोर्टको फैसलाविरुद्ध केन्द्रीय जाँच ब्यूरो (सिबिआइ)ले गरेको अपिल स्वीकार गर्दै इलाहाबाद हाइकोर्टको फैसला कार्यान्वयन नगर्न भनेको छ । सर्वोच्च अदालतले अबको सुनुवाइ हेमराजकी पत्नी खुमकलाको अपिलसँगै हुने आदेश दिएको छ । इलाहाबाद हाइकोर्टले गतवर्षको अक्टोबर १३ मा तलबार दम्पतीलाई रिहा गर्न आदेश दिएको थियो ।

१६ मे २००८ मा दिल्लीसँग जोडिएको नोएडामा १४ वर्षकी आरुषीको घाँटी रेटेर हत्या भएको थियो । अर्को दिन घरको छतमा नेपाली कामदार हेमराजको समेत शव भेटिएको थियो । त्यसपछि भएको अनुसन्धान र सुनुवाइपछि सिबिआइ अदालतले आरुषीका मातापितालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । तर, गतवर्ष इलाहाबाद हाइकोर्टले यो फैसला उल्ट्याउँदै तलबार दम्पतीलाई रिहा गरेको थियो ।
उच्च अदालतको फैसला आउनेबित्तिकै मृतक हेमराजकी पत्नी खुमकला दिल्ली पुगेर उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । खुमकलासँगै सिबिआइले समेत सर्वोच्चमा पुनरावेदन गरेको थियो । त्यतिबेला दिल्लीमा मिडियासँग कुरा गर्दै खुमकलाले सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वासका साथ आफू नेपालबाट दिल्ली पुगेको बताएकी थिइन् ।
घटना सन् २००८ मा भएको थियो । त्यतिबेला भारतको नोयडाका उच्च वर्गका डाक्टर दम्पत्ती राजेश तलवार र नुपुर तलवारकी छोरी आरुषी र उनको घरमा काम गर्ने नेपाली घरेलु कामदार हेमराज बञ्जाडेको मे महिनामा हत्या भएको थियो । मे १६ को राती यी दुईको घरमै हत्या भएकोमा सुरुमा आरुषीको मात्र शव भेटिएपछि उनका मातापिताले हेमराजमाथि हत्याको आरोप लगाएका थिए । तर भोलिपल्ट हेमराजको पनि शव छतमा भेटिएको थियो ।
उच्च घरानाको यो हत्याकाण्डले सिंगो भारतमा हंगामा भएपछि यसको जाँचको जिम्मा प्रहरीबाट फिर्ता लिइ भारतको उच्चस्तरीय जाँच एजेन्सी सिबीआइलाई दिइएको थियो । सिबिआइ जाँचबाट आरुषीका मातापिता राजेश तलवार र नुपुर तलवारलाई दोषी ठहर गरी जेलमा राखिएको थियो । यही अक्टोबरमा भएको सुनुवाइमा अदालतले तलवार दम्पत्तीलाई निर्दोष ठहर गरेपछि यो विषय फेरि चर्चामा आयो ।
अदालतले तलवार दम्पत्तीलाई निर्दोष ठहर गरेपछि उनीहरुलाई यही १३ अक्टोबरका दिन रिहा गरिएको थियो । २ महिनापछि मृतक हेमराजकी पत्नी खुमकला दिल्ली पुगेर उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । दिल्लीमा मिडियासँग कुरा गर्दै खुमकलाले सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वासका साथ आफू नेपालबाट दिल्ली पुगेको बताएकी थिइन् ।
खुमकलाले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा तलवार दम्पत्तीलाई रिहा गर्ने निर्णय गलत भएको बताउँदै यसको पुष्टिका लागि उनले केही आधारहरु पनि दिएकी थिइन् । खुमकलाले इलाहाबाद उच्च अदालतले कसैलाई पनि दोषी ठहर नगरेकोप्रति आपत्ति जनाएकी थिइन् । उच्च अदालतले आरुषी र हेमराजको हत्या भएको मानेको थियो । तर, हत्या कसले गरेको हो भन्ने नबताइ तलवार दम्पत्तीलाई निर्दोष ठहर गरेको थियो । यो हत्याकाण्डमा दुवैको हत्या भएको भनेको अदालतले कसैलाई पनि हत्यारा ठहर नगरी मुद्दा बन्द गरेको थियो ।
खुमकलाले तलवार दम्पत्तीमाथि नै आरोप लगाएकी छिन् । घरभित्र भएको यति ठूलो घटनामा तलवार दम्पत्तिले समेत उनीहरुको हत्या कसले र किन गरेको हो भन्ने पत्ता लगाउन नसकेको र हत्याबारेमा तथ्य पत्ता लगाउन चासो नदिएको हुँदा उनीहरु नै हत्यामा संलग्न भएको हुन सक्ने उनको दावी छ ।