घटस्थापनामा सार्वजनिक बिदा दिन माग गर्दै क्षेत्री समाज नेपालले ज्ञापनपत्र बुझाएका छन् । क्षेत्रीहरुले घटस्थापनालाई ‘क्षेत्री दिवस’ को रुपमा मनाउँदै आएका छन् ।
उक्त दिन सार्वजनिक बिदा दिइनुपर्ने मागसहित सोमबार समाजका प्रतिनिधि टोलीले गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, सांसद पुष्पा केसी भण्डारी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रमेश बहादुर केसीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
मुलुकमा विद्यमान विकृति, विसंगति, विभेद तथा राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रुपमा लिइँदै आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रुपमा सम्मान गरी उक्त दिन सार्वजनिक बिदा दिन जोडदार माग गरिएको क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले जानकारी दिए । उनले नेपालीहरुको आफ्नो परिचयको लागि लडिरहेको अवस्थामा परम्पराले नै नेपालीको अस्तित्व रहने बताए ।
गण्डकी प्रदेशका ९ वटा जिल्लामा क्षत्री समाज नेपाल जिल्ला समितिले दशैँको आगमनको महत्वपूर्ण दिनमा गत वर्षदेखि सरकारले विदा कट्टा गरेको हुँदा यसलाई पुनर्स्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको क्षेत्री समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्कीले जनाए ।
विज्ञप्ति बुझ्दै गण्डकी प्रदेश प्रमुख, प्रदेश सभाका सभामुख र जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुखले नेपालीहरुको महान चाड बडा दशैँको शुभारम्भमा सार्वजनिक बिदा माग गर्नु जायज रहेको भन्दै यस विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको कार्कीले जानकारी दिए ।