२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कसका हुन् यी कंकालहरु ?

980 Shares
Spread the love

सँगै गाडिएको अवस्थामा फेला परेका दुई प्राचीन मानव कंकाल पुरुषको रहेको वैज्ञानिकहरुले बताएका छन्। हातमा हात जोडेको अवस्थामा भेटिएको सो मानव कंकाललाई ‘लभर्स अफ मोडना’ को रुपमा चिन्ने गरिएको छ ।

प्राचीन रोमको सिरो मेनोट्टी समाधिस्थलमा सन् २००९ मा दुई व्यक्तिको कंकाल भेटिएको थियो र दुईको हात एकअर्काले समातेको अवस्थामा थियो। त्यो बेला उनीहरुको लिंग पहिचान हुन सकेको थिएन, तर अनुमान गरिएको थियो कि यी दुई महिला र पुरुष थिए।

बोलोग्ना विश्वविद्यालय र मोडना विश्वविद्यालयका अनुसन्धानकर्ताले लामो समय लगाएर ती कंकालको अध्ययन गरेका हुन्। उनीहरुको दाँतको इनामेलमा रहेको प्रोटिनको परीक्षण गर्दा दुवै कंकालमा पुरुषमा मात्रै पाइने पेप्टाइड पाइएको अनुसन्धानकर्ताले बताएका छन्। कंकालको अध्ययन सम्बन्धी प्रतिवेदन नेचर जर्नलमा बुधबार प्रकाशित भएको हो।

अधबैँसे उमेरका ती पुरुषको सम्बन्धबारे हाल स्पष्ट भएको छैन। उनीहरुको निधन चौथो र छैटौँ शताब्दीको बीचमा भएको हो।

बोलोग्ना विश्वविद्यालयका अनुसन्धानकर्ता फेडेरिको लुग्लीले भने, ‘हालसम्म यस्तो प्रकारको थप कंकाल भेटिएको छैन। विगतमा हातमा हात कसेको अवस्थाथमा पुरिएका धेरै कंकाल भेटिएका थिए र ती सबै महिला र पुरुषका थिए।’

उनले अघि भने, ‘मोडनाको समाधिस्थलमा फेला परेका दुई पुरुष कंकालको सम्बन्ध के थियो भन्ने हालका लागि इतिहासकै गर्भमा छ।’

मोडना विश्वविद्यालयका सहप्रध्यापक गिउलिया डी रोकोले भने, ‘यो कुरामा हामी निश्चित छौँ कि उनीहरुलाई नियतबस नै सँगै गाडिएको हो। उनीहरु दाजुभाइ, साथी हुन सक्छन्। र उनीहरु प्रेमी पनि हुन सक्छन्। सबै सम्भावना बराबर छ।’

प्रतिक्रिया