काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ११ वर्षीय बालक निशान खड्काको अपहरण र हत्या तथा कथित ईन्काउन्टरका विषयमा अनुसन्धान गर्ने भएको छ ।
आयोगका सदस्य सुदीप पाठकले ११ वर्षीय अबोध बालकको अपहरणपछि हत्या गरिएको घटना अत्यन्तै निन्दनीय र माफै गर्न नसकिने रहेको बताए ।
तर, अहपरण र हत्याको घटनालाई ओझेलमा पार्ने गरेर भएको कथित इन्काउन्टरका विषयमा सञ्चारमाध्यमहरूले प्रश्न उठाएकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण पनि भएको पाठकले बताए ।
‘अपहरण र हत्याका विषयमा प्रहरी गहिराइसम्म पुगेर सत्यथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्छ’, नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाठकले भनेका छन, ‘कथित इन्काउन्टरका बारेमा पनि सञ्चारमाध्यमहरूले विभिन्न प्रश्न उठाएका छन् । त्यस विषयमा आयोग पनि सचेत भएको छ । हाम्रोतर्फबाट अनुसन्धान हुन्छ ।’
प्रहरीले र्इन्काउण्टरमा मारिएका गोपाल तामाङकी आमा–बुबाले मंगलबार टिचिङ अस्पतालको शवगृहमा पुगेर छोरालाई हेरेका छन् । त्यसपछि उनीहरूले भनेका छन्, ‘हाम्रो छोरालाई कोठामै समात्यो र हिँड्न नसक्ने गरी कुट्यो । प्रहरीले समातेपछि ठानातिर लानुपर्ने जङ्गलमा लगेर गोली हानेर किन मारेको, हाम्रो चित्त नबुझी छोराको लास बुझ्दैनौं ।’
हत्या गरिएका निशानको कुनै दोष थिएन । हत्या किन र कुन उदेश्यका लागि भएको थियो भन्ने कुराको यकिन तथ्य बाहिर आएको छैन ।
अपहरण र हत्यामा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङको कथित मुठभेडमा मारिएको भनेर प्रत्येक दिन विभिन्न खालका कुरा बाहिर आइरहेका छन् । अजय र गोपालले अबोध बालक निशानको हत्या गरेर ठूलो अपराध गरेका थिए । ती अभियुक्तलाई सजाय दिनु प्रहरीको दायित्व थियो ।
निशान अपहरणमा परेको जानकारी समयमा पाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहबीच समन्वय नहुँदा बालकको उद्धार हुन नसकेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
त्यति मात्रै होइन अपहरणकारीले फिरौतीका लागि फोन गरेको नम्बरमा एसएसपी पोखरेलले हतार–हतारमा एसएमएस पठाएर धम्की दिनुको घटनालाई पनि सहज रुपमा लिन नसकिने गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए । यो घटनाका बारेमा गृहसचिवले सिधै चासो राखेर आन्तरिक रुपमा बास्तविकता पत्ता लगाउन निर्देशन दिएका छन् ।
इन्काउन्टरमा मारिएका भनिएका गोपाल तामाङ र अजय तामाङका आफन्त र स्थानीय प्रत्यक्षदर्शीले प्रहरीले उनीहरूलाई डेराबाट पक्राउ गरेर लगेको बयान दिएका छन् ।
एसएसपीद्वय सिंह र पोखरेलले अपहरित बालक निशानको सकुशल उद्धार गर्न नसकेपछि फेक इन्काउन्टर गरेको आरोप गोपाल र अजयका आफन्तहरूले लगाएका छन् ।
पीडित परिवारसँग निकट रहेका अपहरणकारीले किन अस्वभाविक रकम फिरौती मागे भनेर प्रश्न उब्जिएको छ । तर, प्रहरीले भरपर्दो जवाफ दिन सकेको छैन । एसएसपी धिरजप्रताप सिंहले जवाफ कारबाहीमा अजय र गोपालको मृत्यु भएको दाबी गरिरहेका छन् । तर सिंहको दाबीलाई प्रत्यक्षदर्शीहरूले मान्न तयार छैनन् ।
अजय र गोपालको साथबाट १ थान पेस्तोल र २ थान गोली बरामद भएको प्रहरीको भनाइ छ । रंगरोगनको काम गर्ने मजदूरसँग पेस्तोल कहाँबाट आयो भन्ने जवाफ प्रहरीसँग छैन । यो विषयको निरुपण नभई प्रहरी ‘इन्काउन्टर’ विवादरहित हुन सक्दैन ।