२०८१, २२ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, डा. केसीले आजै अनसन तोड्न सक्ने

1033 Shares

काठमाडौं। सरकार र चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ । आज भएको वार्ताको ७ बुँदे सहमति गरी हस्ताक्षरको तयारी गरिएको छ । डा. केसीले अनसन आजै तोड्न सक्ने सम्भावना बलियो छ । डा. केसीलाई भेट्न नेकपा नेता सुवास नेम्वाङ र डा. केदारभक्त माथेमा शिक्षण अस्पताल गुगेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गरेको छलफलपछि डा. केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्ने गरी वार्ता सुरु गरिएको थियो। वार्ता सकारात्मक भएका कारण डा. केसीका ७ वटै मागमा सहमति भएको हुन सक्ने सम्भावना छ।यद्यपि सहमतिका बुँदा सार्वजनिक भइसकेका छैनन् ।

मंगलबार नै त्यससम्बन्धि सहमतिको प्रयास भएपनि बुधबार दिउँसोको वार्ता भाँडिएको थियो। बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसी पक्षका वार्ता टोलीका सदस्यहरुसँग आफैं छलफल गरेका थिए। बेलुका १ बजेसम्म छलफल भएको थियो।

त्यस्तै बिहीबार पनि बालुवाटारमा बिहानैदेखि अनौपचारिक छलफल सुरु भएको थियो। छलफलमा सरकारको तर्फबाट नेता सुवास नेम्बाङ तथा प्रधानमन्त्री कार्यालयकी चिकित्सक डा. दिब्या सिंह शाहले सक्रियता देखाएका थिए। त्यस्तै मेडिकल काउन्सिका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटा तथा केदार भक्त माथेमा छलफलमा संलग्न समेत थिए।

डा.केसीको तर्फबाट सुरेन्द्र भण्डारी, अभिषेकराज सिंह लगायतले प्रतिनिधित्व गरेका थिए। डा. केसीका एक सहयोगीले पनि आज समझदारी हुने र अनसन तोडिन सक्ने जानकारी दिए। डा केसी २७ दिनदेखि अनसनमा छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

प्रतिक्रिया